कपन बानेश्वर को १४औँ वार्षिकोत्सव : स्रष्टा सम्मान तथा पुरस्कार 

६ श्रावण २०८३

२०८३,  साउन ५ गते मङ्गलबार। नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।

वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कवि त्रिलोचन आचार्य, कवि दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो ।

साहित्य सदन रामहिटी बौद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त, कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति, महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट कपन अनलाइनका सम्पादक पुण्यराज पुडासैनी सम्मानित हुनुभएको  छ। यसैगरी पत्रिकामा २०८२ सालमा प्रकाशित रचनाहरुबाट नालाङ कबा रचना पुरस्कार पुरुष भलाद्मी भोला, पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कार महिला अंशु भट्ट, अविरल गङ्गा कबा रचना पुरस्कार, मोफसल (पश्चिम नवलपरासी ) बाट विश्वजित गुप्ता, हेमगङ्गा बाल रचना पुरस्कार बाल भावना बराल र भमरकोटे रचना सुसेली पुरस्कारबाट कृष्णप्रसाद पौडेल जस्ताघरे पुरस्कृत/सम्मानित हुनुभएको छ । समारोहमा पुरस्कृत स्रष्टाहरूलाई टीका, खादा, सास, सम्मानपत्र र नगद राशिबाट  पुरस्कृत तथा सम्मानित गरिएको थियो।

कबाका संरक्षक तथा प्रतिभा छनौट समितिकी अध्यक्ष गङ्गा पौडेलद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा कबाका स्तम्भकार तथा कवि त्रिलोचन आचार्यद्वारा कबा साहित्यकार उपचार कोषका संरक्षक एवं दाताहरुको देनका बारेमा प्रकाश पार्नुभएको थियो । कबाका व्यवस्थापक विमल कोइरालाले धन्यवाद र दुर्गा अधिकारी भमरकोटेले प्रतिभा परिचय दिनुभएको थियो ।

आसन र भाषण रहित उक्त कार्यक्रमलाई उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले संक्षिप्त सम्बोधन गरी समापन गरिएको सो कार्यक्रममा कविता दाहालले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: