काठमाडौं, २०८३, साउन ८ गते । साहित्य सन्ध्याको कार्यसमितिको बैठकले निम्न स्रष्टाहरूलाई २०८२ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ समर्पण गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यका गीत, कविता, गजल, समालोचना, संस्मरण, कथा, निबन्ध विधामा कलम चलाइरहनुभएकी अहिलेको समयकी अत्यन्तै क्रियाशील एवम् प्रखर बौद्धिक स्रष्टा डा. बिन्दु शर्मालाई उहाँले गरिरहनुभएको अनुकरणीय सत्कर्मका निम्ति २०८२ सालको रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्नका लागिएको छ ।
नेपाली साहित्यका कविता, गीत, कथा, निबन्ध र नाटक विधामा निरन्तर कलम चलाइरहनुभएका ओमप्रसाद कोइरालाले यस वर्ष आयोजना गरिएका पूरै बारैओटा गोष्ठीमा सहभागी हुनुका साथै एघारओटा गोष्ठीमा कवितावाचन गर्नुभएकोले २०८२ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गर्ने निर्णय गरिएको छ ।
‘जागरण महिला समूह’, ‘चेतना समूह’जस्ता सामाजिक संस्थामा समेत सक्रिय रहँदै अन्धविश्वासको विरोध, सबै प्रकारका समाजिक विभेदको विरोध गर्दै लैङ्गिक समानताका माध्यमबाट सभ्य समाज निर्माणमा समर्पित इमानदार समाजसेवी सान्नानी मिजार इमानी, विश्वासी र कामप्रतिको समर्पणकी पर्याय बन्नुभएको छ । उहाँको यो अनुकरणीय एवम् समर्पणभावसहितको समाजसेवाको उच्चसम्मान गर्दै उहाँलाई २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय भएकोे छ ।
श्री भीमसेनगोला माध्यमिक विद्यालय, नयाँबानेश्वर, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी तामाङ अत्यन्त अनुशासित, लगनशील, मिहिनेतीको साथै पढाइमा सधैँ अब्बल रहँदा रहँदै पनि अत्यन्त विपन्न पारिवारिक पृष्ठभूमिका कारण उहाँको जेहेनदार व्यक्तित्व छायाँमा पर्ने देखिएको हुँदा भविष्यका अनेक परीक्षाहरूमा पनि उत्कृष्टता कायम गर्न/गरिरहन उत्प्रेरणा प्राप्त होस् भन्ने अपेक्षाका साथ २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ का लागि उहाँलाई छनोट गरिएको छ ।
नेपाली साहित्यका कथा, कविता, मुक्तक, गजल, यात्रासंस्मरणजस्ता विधामा निरन्तर कलम चलाइरहनुभएका गणेशप्रसाद खतिवडालाई साहित्ययात्रा र नेपाली नियात्रा विधालाई समृद्ध पार्न गर्नुभएको/गरिरहनुभएको योगदानको उच्चसम्मान गर्दै २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्न लागिएको छ ।
उल्लेखित स्रष्टाहरूको चयन साहित्यकार प्रा.केशव सुवेदीको संयोजकत्वमा रमेश पोखरेल र देबु लुइटेल रहनुभएको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा गरिएको हो । यो पुरस्कार तथा सम्मान यही २०८३ भदौ ६ गते शनिबार आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।


प्रतिक्रिया दिनुहोस्: