जनसाहित्य यात्रामा कवि ‘निरु’ का एक दर्जन कविता गुञ्जिए

१४ श्रावण २०८३

काठमाडौं, २०८३, साउन ९ गते शनिबार । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १११ औँ शृङ्खलामा सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा सशक्त प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’ का एक दर्जन सुन्दर, सशक्त, वैचारिक कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले नेता एवम् महासङ्घका इन्चार्ज जीवन घिमिरे उपस्थित हुनुहुन्थ्यो भने प्रा.केशव सुवेदी, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.देवी नेपाल, महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, महासचिव आर.सी.न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको काव्य विभाग सदस्य गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा सङ्घका महासचिव डा.कृष्ण सुवेदीले कविनायक निरञ्जना चन्द ‘निरु’ को परिचय दिनुहुँदै वि.सं.२०४५ असार १८ मा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं.४ मा माता पदमा शाही र पिता लालबहादुर शाहीकी सुपुत्रीका रूपमा जन्मिएकी निरञ्जना चन्द निरु को हालको ठेगाना बर्दिया जिल्लाको बाँसगढी ८ मा रहेको छ । चन्द अध्ययन, भ्रमण तथा साहित्यलेखनमा रुचि राख्छिन् । ‘निरुले साइनो’ छोटा कवितासङ्ग्रह २०७६, ‘निरुपण’ मुक्तकसङ्ग्रह २०७७ र ‘वनफूलको विद्रोह’ कवितासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकाहरूमा थुप्रै फुटकर रचना पनि प्रकाशित भएका छन्, भन्नुभयो ।

समारोहको अध्यक्षता गर्दै नर्मदेश्वरी सत्यालले ‘अविरल जनसाहित्य यात्रा’मा यसको उद्देश्यअनुसार एकजना  स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने गरिन्छ । यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ, भन्नुभयो ।

कविनायक निरञ्जना चन्द ‘निरु’ले मैले सानैदेखि कविता लेख्ने गरेकीमा ती कविता भए वा भएनन् भन्ने चाहिँ आफैँलाई थाहा नभएको अवस्थामा ‘वनफूल’ कवितासङ्ग्रह प्रकाशित भएपछि प्राप्त भएका प्रतिक्रियाले, कर्णाली प्रदेशस्तरीय कविताप्रतियोगितामा प्रथम भएपछि, नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कवितामहोत्सवमा मेरो कवता तृतीय र साहित्य सदन नेपालले आयोजना गरेको देशव्यापी कवितामहोत्सवमा द्वितीय भएपछि चाहिँ मेरो आफ्नो लेखनप्रति आफैँलाई विश्वास लाग्नथालेको हो, भन्दै रचनागर्भको जानकारीसहित आफ्ना ‘युगीन प्रतिध्वनि’, ‘अयोग्य योद्धा र पदचापहरू’, ‘वनफूल’, ‘मेरो वस्तीमा घाम किन आएन !’, ‘छाउगोठका शरणार्थी सपनाहरू’ र ‘मधेसको आागनमा दहेज’ शीर्षकका चारओटा सशक्त र बिम्बात्मक एवम् वैचारिक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू जयन्ता पोखरेलले ‘निश्चिन्त भएर उठ’ शीर्षकको, यशोदा अधिकारीले ‘दिलमाया’ शीर्षकको, रामचन्द्र दाहालले ‘फर्केर आऊ आफ्नै घर’ शीर्षकको, माधव चोलागाईँले ‘गुराँसहरू युद्ध गर्दैनन्‌’ शीर्षकको, गीता सापकोटाले ‘सत्तासीन गुनासो’ शीर्षकको र प्रा.डा.जीवेन्द्र देव गिरीले ‘जीर्णकवच’ शीर्षकको सशक्त, सुन्दर, कलात्मक, बिम्बात्मक र वैचारिक कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.अमृता शर्माले कविताहरू वैचारिक र सुन्दर छन् । कर्णालीको विकट भूगोलमा सङ्घर्ष गर्दै समाजमा विध्यमान विभेद, शोषण र महिलाले भोगेको उत्पीडनलाई विद्रो चेतका साथ उजागर गर्दै सामाजिक रूपान्तरणको स्पष्ट वैचारिकता कवितामा सम्प्रेषण गरिएको छ । सबै कविताको विषयवस्तु यथार्थपरक छन्, भन्नुभयो ।

प्रमुख अतिथि जीवन घिमिरेले आज सुनिएका कवितामा सामाजिक परिवर्तनको भाव स्पष्ट छ, वर्गीय दृष्टिकोण स्पष्ट देखिएको छ । आज प्रविधिले मिच्दै मिच्दै संस्कृति धरापमा परिरहेको छ ! निरङ्कुशताको अन्त्यको लागि चेतना र जागरण छर्ने कविता, गीत, सङ्गीत आज कमजोर भएकाले हामीले बहस चलाउनुपर्ने र स्रष्टाका कलम त्यसतर्फ सोझिनुपर्ने आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।

समारोहमा सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताभित्र बौद्धिकता मिश्रण गरी गम्भीर एवम् रूपान्तरणप्रेमी भाव सम्प्रेषण गर्ने; दुःख, पीडा, उत्पीडनमा बाँचेका निमुखा मान्छेका पक्षमा वाचित कविताले स्पष्ट वकालत गरेका छन्, भन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: