काठमाडौं, २०८३ साउन १२ गते । अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा शोक सभा सम्पन्न भएको छ ।
राजधानीमा मङ्गलबार आयोजित उक्त शोकसभाको प्रारम्भमा शर्माको तस्विरमा माल्यार्पण गरी शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सभामा बोल्ने अधिकांश वक्ताहरुले शर्माको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरे ।
शर्माका मित्र अग्रज साहित्यिक पत्रकार एवं रचनाका प्रधान सम्पादक रोचक घिमिरेले शर्मासँगका विभिन्न अविष्मरणीय पलहरू सार्वजनिक गरे । उनले भाषा साहित्यमा आफ्नो जोडाको रूपमा बिम्ब स्थापित भएको बताए । दुवैजनाले कतिपय पुरस्कार र सम्मानहरू संयुक्त रूपमा पाएको पनि उनले जानकारी दिए । शर्मा र अभिव्यक्ति साहित्यिक पत्रिका परिपूरक देखिएको भन्दै घिमिरेले अगाडि भने, ‘नाताले काका परे पनि उहाँसँग मेरो घनिष्ठ सम्बन्ध रहेको थियो, आफूले चार वर्ष राजनीतिक परिवर्तनसँगै रचना बन्द गर्नुपरे पनि उहाँले अभिव्यक्तिलाई निरन्तर प्रकाशन गर्नुभयो । अभिव्यक्तिको निरन्तरता नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हो ।’ उनले सबैलाई ‘अभिव्यक्ति’ प्रकाशनको निरन्तरताको लागि सहयोग गर्न आग्रहसमेत गरे ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं नराश कोषका सदस्य रामप्रसाद पन्तले शर्माको बारेमा जति लेखे पनि कम हुने बताए । उनले उदार र सहृदयी व्यक्तिको रूपमा शर्मालाई स्मरण गरे ।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष एवं जनमतका प्रधान सम्पादक मोहन दुवालले अभिव्यक्तिमा बाँचिरहेका व्यक्तित्वको रूपमा शर्मालाई सम्झिए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष एवं नराशका सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने, ‘शर्मालाई नबिर्सन उहाँले गरेका सत्कर्मलाई अनुसरण गर्न सकियो भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’ अभिव्यक्ति पत्रिकाको निरन्तरताको निम्ति उनले सबैजना लाग्नुपर्नेमा जोड दिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शर्मासँगका पुराना कुरा स्मरण गर्दै आँखामा राख्दापनि नबिझाउने मान्छेको रूपमा शर्मालाई चित्रण गरे ।
अग्रज कवि एवं नराश सदस्य विधान आचार्यले उहाँका राम्रा कुराहरुको अनुसरण सबैले गर्नुपर्नेमा जोड दिए । उनले शर्माले सुन्दर र अनुकरणीय जीवन बाँचेको भावना व्यक्त गरे ।
कार्यक्रममा अग्रज साहित्यकार किशोर पहाडी, ज्ञानुवाकर पौडेल, डा.नवराज रिजाल, शर्माका सुपुत्र प्रणयराज शर्मा, त्रिभुवनचन्द्र वाग्ले, शुकदेव उपाध्याय, तारा सुवेदी लगायतले शर्माको व्यक्तित्व बारे प्रकाश पार्दै आफ्ना अनुभव र अनुभूति साझा गरे ।
नेपाल स्रष्टा समाज, अभिव्यक्ति परिवार र नराशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘अभिव्यक्ति’ का प्रधान सम्पादक एवं नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका सदस्य सचिव देविका तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन कोषका कोषाध्यक्ष शंकर भारतीले गरे ।
शर्माको गत असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: