चियास्थानमा साउन–१५, खीर र कविता सभा

१६ श्रावण २०८३

काठमाडौं, साउन १५ गते शुक्रबार । महालक्ष्मी नगरपालिका–४, इमाडोल, ललितपुरको चियास्थानमा साउन–१५, खीर र कविता सभा सम्पन्न भएको छ ।

चियास्थानले विगत दुईवर्षदेखि हरेक महिनामा कुनै पर्व पारेर गीत, गजल, मुक्तक, कविताको कार्यक्रमहरू गर्दै आएकोमा यसपटक साउन–१५ को अवसर पारेर साउन–१५, खीर र कविता सभाको आयोजना गरेको हो ।

कविता सभामा डा.शैलेन्दुप्रकाश नेपाल, डा.बमबहादुर थापा जिताली, डा.रमेश शुभेच्छु, कवि/साहित्यकार उमेश पाण्डे, कवि रत्न बिरही घिमिरे, कवि उत्तम भेटुवाल, कवि सुनिता सापकोटाले समसामयिक विषयका ३/३ वटा शास्त्रीय छन्दका कविता वाचन गर्नुभएको थियो । कवि पूर्णकुमार खड्काले भने आफ्नो एउटा मात्र सिर्जना वाचन गर्नुभएको थियो ।

रिवाज सुवेदीले सञ्चालन गर्नुभएको चियास्थानमा बाहिर झमझम पानी परिरहेको साउन–१५ को साँझमा रेष्टुरेन्टभित्र भने केही कवि, लेखकहरू आफ्ना कविताको भाकासँगै ‘संस्कृति र साहित्यको अन्तर सम्बन्ध’ र चियास्थानको कर्म र साहित्यिक सेवाको बारेमा चर्चा परिचर्चा गरिरहनुभएको थियो ।

कवि तारा के.सी. र सौरभ लम्सालले सहजीकरण तथा सञ्चालन गर्नुभएको कविता सभामा काव्य श्रवणको लागि चियास्थानका नियमित ग्राहक महानुभावहरूको पनि उपस्थिति रहेको थियो ।

सभाको अन्त्यमा अतिथिहरूलाई रात्रिभोजको लागि खीर र विभिन्न परिकारहरूको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: