शहीदहरू बाँच्छन्
घाँटीमा फाँसिको माला गाँसेर मर्न तत्पर
शहीदै हो मरी हाँस्ने अरू खोजेर को छ र ?
गोलीले छेड्ने छाती लोटेर भूमिकाबीच
जय जय भनी देश सम्झेर रुन्छ बर्बर ॥
बनेर बलिको बोको रक्तधारा खन्याउँछ
खनेर क्रान्तिको डोब शान्त ज्योति उदाउँछ ।
व्यक्तिवादी प्रवृत्तिको दोहोलो पार्न खातिर
लडेर दुष्टको माझ साधुसन्त बचाउँछ ॥
फुटाइ स्वार्थको घैला निस्वार्थ बलिमा चढी
हाँसेर देशका लागि प्राणको दिन्छ आहुती ।
आँखामा राष्ट्रको छायाँ मुटुमा राष्ट्र ढुक्ढुक
तयार पार्दछन् टीका माटो रगतमा मुछी ॥
आफ्नै शरिरको दोहन् गेरेर परिवर्तन
शहीदै हो त ल्याउने अरू को छ र सज्जन ?
क्रूरताको गरी भस्म मरिजाने शहीद हो
मरेर पनि धर्तीमा बाँचिरहो शहीद हो !
बनेपा न.पा.–६, काभ्रेपलाञ्चोक ।


प्रतिक्रिया दिनुहोस्: