काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट जीवन गुमाउनेहरूप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामूहिक श्रद्धाञ्जलिसभा सम्पन्न भयो ।
पशुपतिनजिक गुह्यश्वरी मन्दिर अगाडि, बागमती नदी किनारमा विभिन्न साहित्यिक संघसंस्था र स्रष्टाहरूद्वारा सामुहिक रूपमा दीपप्रज्वलन गरी उनीहरूप्रति १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पणसमेत गरियो ।
शोकसभामा समन्वय समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्यसहित शोक मन्तव्य व्यक्त गरे । उनीहरुले संकटको समयमा सबै लेखक, कवि, स्रष्टा एक हुनुपर्नेमा जोड दिए ।

नेपाली भाषा, साहित्य र कलाक्षेत्रमा क्रियाशील करिब एकसय बढी संस्था संलग्न साहित्यिक संस्था समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
सहभागीहरूले दियो तथा मैनवत्ती प्रज्वलन गर्दै बाढीमा परी जीवन गुमाउनेहरूको स्मरण गर्दै मृतात्माको शान्तिको कामना गरे । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस्: