लघुकथा

राममानको सम्मान

७ चैत्र २०८१
ड़ा गार्गी शर्मा

राममानको सम्पादन र प्रकाशनमा ‘अञ्जुली’ साहित्यिक पत्रिका धेरै वर्षदेखि चलिरहेको थियो । पत्रिकामा वरिष्ठदेखि कनिष्ठ, सिकारुदेखि विशिष्ट सबै खालका साहित्यकारहरूको रचना, लेख प्रकाशन गरिन्थ्यो । सालसालै कुनै नकुनै विधाको विशेषाङ्क पनि देख्न, पढ्न पाइन्थ्यो । साहित्यिक पत्रिका भएर होला त्यति धेरै विज्ञापन हुँदैनथ्यो, तैपनि जसोतसो गरेर त्रैमासिकको रूपमा पत्रिका प्रकाशन गरिरन्थे । नेपाली भाषासाहित्यको अभिवृद्धिमा उनको लगाव, त्याग र परिश्रम देखेर बेलाबेलामा कुनै कुनै संस्थाले उनको अभिनन्दन गर्थे, सम्मानपत्र र दोसल्ला ओढ्न पाउँदा पनि अति खुशी हुन्थे ।
यसैगरी एकदिन प्रेमानन्द गुठीले राममानलाई रु.चालीस हजार नगदसहितको पुरस्कार दिइने निर्णय विभिन्न पत्रपत्रिकामा छापिएको देखेर धेरैले उनलाई बधाई दिन लागे । रु.चालीस हजार नगदसहितको पुरस्कार यसरी पहिलोपटक पाउने भएर उनी कति खुशी भए, कति साथीलाई चियापान पनि खुवाए । खुशीले उनको उमेर पनि बढ्यो होला ! पुरस्कार वितरण हुने दिनमा उनी ठीक समयमा निम्ता गरिएको ठाउँमा गए । कार्यक्रम गरिने हलमा साहित्यकारहरू खचाखच थिए । ठीक समयमा प्रमुख अतिथि पनि पुगे, कार्यक्रम पनि सुरु भयो । राममानलाई पनि मञ्चमा आसन ग्रहण गर्न उद्घोषकबाट बोलाइयो । पुरस्कार वितरण गर्ने बेलामा प्रेमानन्द गुठीका संरक्षक अध्यक्षले राममान र उनको पत्रिकाको खूब प्रशंसा गरे, पत्रिका चलाउनलाई विज्ञापन दिएर सहयोग गर्नुपर्छ भनेर मीठो बोलीमा सुनाए । राष्ट्र र राष्ट्रभाषाको सेवा गर्नु प्रत्येक नेपालीको कर्तव्य मात्र होइन जिम्मेवारी पनि हो भन्ने कुरा सुनाए ।
फूलमाला, दोसल्ला र सम्मानपत्रको साथ नगद रु.चालीस हजारको थैलीले उनको सम्मान गरे, उक्त गुठीका संरक्षक अध्यक्षले । हल दर्शकहरूको तालीको गडगडाहटले गुञ्जियो । राममानको मुहार खुशीले धपक्क बल्यो । प्रमुख अतिथि, विशिष्ट अतिथि आदिको वक्तव्यपछि सभा विसर्जन भयो ।
राममान र मेरो निवास एकै टोलमा भएकोले हामीसँगै घर गयौँ । उनले घरमा जाऔँ हिड्नोस् भनेकोले उनको घरमा म पनि गएँ । चिया–खाजा खाँदै गर्दा मैले उनलाई फेरि पनि बधाई दिँदै भने, राममानजी ! पुरस्कारको रकम पनि राम्रो छ र सम्मान पनि रमाइलोसँग गरिएको छ, खूब खुशी लाग्यो । उनले पनि मुकुराउँदै शिर हल्लाए । यही बेला मैले भने, खोई ! तपाईंले थैली खोलेर पनि हेर्नुभएन ! पैसा त जहाँ पाए पनि गनेर हेर्ने मानव स्वभाव भन्छन् । सबैले ९ःयलभथ ष्क अयगलतभम धजभचभखभच ष्त ष्क ायगलम।० । मैले पूरा भन्न नपाउँदै उनले गह्रौँ भएको खाम खोलेर हेर्ने बित्तिकै उनको अनुहार यस्तो अँध्यारियो कि म त हेरेको हेर्‍यै भएँ । उनलाई कसरी के भन्यौँ भयो । खोलिएको थैलीभित्र रु.एकएकको सानो एउटा मुठो पो देखियो ।

म्हेपी, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: