लघुकथा

बैँसालु गुराँस

१५ चैत्र २०८१
Tara KC
तारा के.सी. कुँवर

उचाइमा पुगेपछि उतिसलाई आफू शक्तिशाली, बलवान् र ठूलो छु भन्नेमा खुब घमण्ड लाग्यो । त्यसपछि आफू वरिपरिका सबैलाई उसले भुइँ फूल मात्र देख्न थाल्यो । उसले सोच्यो; ‘यी भुइँफूलहरू भुइँमै फुल्छन् र भुइँमै झर्छन् । संसार हेर्न त म जस्तो उचाइमा हुनुपर्छ । मैले उचाइबाट संसार नियालेको छु ।’
अरूलाई निरीह बनाएर ऊ मनमनै खुशी भयो । अरूलाई हेपेर बोल्न थाल्यो ।
एकदिन उसले गुराँसलाई बेस्सरी उडायो; ‘तिमीहरू होचा छौ । पुड्का छौ । न अग्ला छौ न सुन्दर नै देखिन्छौ ।’
उतीसको घमण्ड देखेर गुराँसले नम्र भएर भन्यो; ‘मेरो सुन्दरता हेर्न तिमी चैत, वैशाखमा आउनू ।’


बैँसले राताम्मे भएर गुराँस वनैभरि फुलेका थिए । उतीसले आँखा खोलेर हेर्दा चैत, वैशाख लागेको रहेछ ।
गुराँसको सुन्दरताले जलन भएको उतिस आक्रोशित भएर हिड्दा उचाइबाट खसेर खोँचमा पुग्यो र कहिल्यै उचाइमा पुग्न नसक्नेगरी भाँचियो ।

पनौती, काभ्रे पनौती
हाल : गोङ्गबुँ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्: