दुर्गम गाउँ निगालेका ग्याल्जेन लामाका छोरा सुनिल मध्यरातमा एक्कासी बिरामी पर्यो । पेट दुखेर अजारीबजारी गरेको दृश्य हेर्न जोकोहीले सक्ने स्थिति थिएन । ग्याल्जेनका बुढाबुढीले छोराको त्यो स्थिति हेर्न सकेनन् ।
गाउँमा पैदल हिँडने बाहेक अरू सवारी चल्ने सडक थिएन । दुईघण्टा हिडेपछि अर्को गाउँमा हेल्थ असिस्टेन्ट साजन बस्थे । उनलाई देखाउँन पाए छोरो बच्थ्यो कि भन्ने आश ग्याल्जेनका जोइपोइमा पलायो । त्यही साँझ ग्याल्जेनले हेल्थ असिस्टेन्टलाई पल्लो गाउँंको पसलमा भेटदा निकै माया पनि पाएको थियो । टर्च बालेर ग्याल्जेन लड्दैपड्दै हेल्थ असिस्टेन्टको घर पुग्यो र करायो, चिच्यायो । बल्ल हेल्थ असिस्टेन्टकी पत्नी उठिन् । भनिन्, ‘उहाँ आफैं बिरामी परेर उठ्न नसकेको दुई रात भै’सक्यो ।’
ग्याल्जेनले धेरै अनुनय बिनय गर्दापनि केही लागेन । उसले हेल्थ असिस्टेन्टलाई एकरातको दश हजार दिने र डोकोमा बोकेर लैजाने कुरा बताएपछि साजन आँगनमा निस्किए । ग्याल्जेनले उनलाई डोकोमा बोक्यो र चिप्लो बाटोमा चार हातखुट्टा टेक्दै घरतिर लाग्यो ।
एकघन्टा हिडेपछि उज्यालो भयो । त्यहाँ एउटा पसल थियो । उसले साजन बोकेको डोको बिसायो र थकाइले सुस्केरा छोड्यो । त्यहीँ दौडदै आइपुग्यो ग्याल्जेनको भतिजोले भन्यो, ‘काका साजनदाइलाई ल्याउन नपर्ने भयो । भाइलाई राम्रोसँग ठीक भैसक्यो ।’
ग्याल्जेन र उसको भतिजोले साजनलाई डोकैमा छोडिदिए र आफ्नो बाटो समाए ।
साजनले यताउति हेर्यो र मनमनै सोच्यो, ‘डोको बोक्नेले छोडिहाल्यो । अब जति छल गरेपनि देख्ने र सुन्ने कोही छैन । बरू अरू बेला काम लाग्छ यो डोको ।’
केहीबेर अघिसम्म उसैलाई बोकेको डोको अहिले उसको काँघमा छ । बिरामी हेरेर दश हजार कमाउँने उसको सपना पनि डोकोबाट चुहिरहेछ ।
गोङ्गबुँ, नयाँबसपार्क, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: