गाउँको धनाढ्य हरिशरणकी छोरी मिनुले पढाइमा ध्यान दिनसकिन । पढ्ने उमेरमा गाउँका केटाहरूसँग बरालिएर हिँड्दा पढाइचाहिँ डामाडोल नै भयो । सातकक्षा पार नगरेर पढाइ रोकियो । तर उमेर भने रोकिएन । हरिशरणले माथिल्लो गाउँको जङ्गवीरका छोरासँग छोरीको बिहे गरिदिने चाजोपाँजो मिलाए ।
विवाह माघमा गर्ने निधो भयो । महिना दिन अगाडिदेखि परिवार मात्र होइन गाउँलेसमेत मिनुको विवाहको तयारीमा जुटे । तामझामकासाथ मेहन्दी कार्यक्रम भयो । घर पाहुनापासाले भरिभराउ भयो । सेल पकाउने, कसार बाट्ने आदि काम सम्पन्न भयो ।
उता दुलाहा प्रकाशको घरमा पनि उस्तै तामझाम छ । जन्तीहरू पंञ्चेबाजा सहित दुलही लिन गए । दुलाहाको आमा, दिदीबहिनी र भाउजुको खुशीको सीमा छैन । साँझसम्म रत्यौलीमा नाचगान चलिरहेछ ।
हरिशरणले जन्तीको निकै सत्कार गरे । खाइपिइ र नाचगान खुबै चल्यो । साँझ दुलही लिएर फर्कंदा जङ्गवीरको घरमा दुलही हेर्नेको भीडले खुट्टा राख्ने ठाउँ छैन ।
दुलही भित्र्याइयो । तर, गाउँभरि एउटा हल्ला भने बेस्सरी चल्यो, ‘दुलाहा प्रकाश त साह्रै भाग्यमानी रहेछन् । त्यत्रो दाइजो पाए । उनकी भाउज्यूका माइतीले त केटी बाहेक केही दिएका थिएनन् ।’
उच्च अध्ययन र मिहिनेतको कारण भाउज्यू निरू सरकारी अधिकृत भैसकेकी कुरा भने कसैले हेक्का राखेनन् ।
समय बित्दै गयो । जङ्गवीरले दुवै छोरालाई छुट्टिभिन्न गरिदिए । प्रकाश र मिनु दुवैको पढाइ र जाँगर दुवै नभएकोले खाडीतिर भासिए । उता भाज्यू निरु भने सचिव पदमा आसीन भैसकेकी छिन् ।
एकपटक देशको प्रतिधित्व गर्दै निरू खाडीमा पुगेको बेला दुःख र पीडाले पिलन्दरे भएका देवर देवरानीलाई भेटिन् र स्वदेश फर्काइन् ।
अहिलेभने तिनै गाउँलेहरू गाउँदैछन्– ‘बुहारी हुनु त निरूजस्ति ।’ अचेल गाउँमा पुरुषभन्दा महिलाहरू बढी पढन्ते बनेका छन् ।
अस्ति गाउमा मैले देखेँ– मिनुले ल्याएका आठदशवटा स्टीलका भाँडा, पलङ र सोफा भने
गोठको एउटा कुनामा खिया र धमिराले खाइरहेको छ ।
गोङ्गबुँ, नयाँबसपार्क, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: