विमल बुद्धि होस् चित्त होस् सफा ।
मन प्रशान्त होस् हृत्प्रसन्नता ॥
छलफलादि होस् नित्य नै तर ।
कपट क्यै नहोस् दीनमा अझ ॥१॥
अहित क्यै नहोस् जीव मात्रको ।
विजय भैरहोस् नित्य सत्यको ॥
अब कतै नहोस् युद्ध क्रान्तिको ।
चटुल चाह होस् विश्वशान्तिको ॥२॥
कलुष नासियोस् चित्त भित्रको ।
मदत पाइयोस् इष्टमित्रको ॥
बढिबढाउ होस् एकता बल ।
खलल नै नहोस् शान्ति शास्वत ॥३॥
चलनमा छँदैछैन जे कुरा ।
नगरियोस् गरे हुन्छ दुर्दशा ॥
शिर स्वदेशको उच्च भो कि त ।
हृदय भैदियोस् गौरवान्वित ॥४॥
चपलता तथा झूट साहस ।
अनि असत्यता मूर्खता छल ॥
भय र निर्दयै अष्ट दुर्गुण ।
सकल छाडियोस् मुक्ति पाउन ॥५॥
सब सुखी बनून् विश्वमानव ।
सबल हून्, नहून् व्याघिपीडित ॥
दुख दरिद्रता दूर हून् सब ।
विभव युक्त हून्, हून् निरामय ॥६॥
छन्द : इन्दिरा ।
लिखु–६, थानसिङ, नवाकोट ।
प्रतिक्रिया दिनुहोस्: