बाल प्रतिभासँगका कुराकानी।

२३ बैशाख २०८२

१. अक्षरको दुनियाँमा सीप र ज्ञानकी धनी श्रेया

आमा सुनिता पण्डित र बाबु रवि पण्डितको कोखबाट २०७० सालमा जन्मिएकी श्रेया पण्डित क्यूपिड चिल्ड्रेन्स् होम एकेडेमी, टोखा नगरपालिका–३, बालुवापाटी, काठमाडौंमा कक्षा पीजीमा भर्ना भएर हाल कक्षा ६ मा पढ्दै आएकी छिन् ।

श्रेया पण्डित पढाइको साथै हरेक विधाकी एक मेधावी छात्रा हुन् । उनी सानै उमेरदेखि अध्ययनमा निकै रुचि राख्ने र मिहिनेती विद्यार्थीका रूपमा चिनिन्छिन् । उनले विद्यालयले आयोजना गर्ने विभिन्न प्रतियोगितामा सक्रिय रूपमा सहभागिता जनाउने गरेकी छिन् । श्रेयालाई गणित र विज्ञानमा विशेष रुचि छ र उनी भविष्यमा छाला रोग विशेषज्ञ बन्ने चाहना राख्छिन् ।

मिलनसार र मित्रवत् व्यवहारकी धनी श्रेयाको सहपाठी र शिक्षकहरूसँग सधैं राम्रो सम्बन्ध रहन्छ । विद्यालयका विविध सामाजिक गतिविधि र कार्यक्रममा उनी सक्रिय रूपमा सहभागी हुन्छिन् ।

श्रेया आफ्नो लक्ष्यप्रति समर्पित र परिश्रमी विद्यार्थी हुन् । भविष्यमा उनी समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि आफ्नो सीप र ज्ञानको उपयोग गर्न चाहन्छिन् ।

श्रेयाले २०८१/०९/११ गते बाल विकास एन सि मास द्वारा आयोजित राष्ट्रिय हस्त लेखन प्रतियोगितामा सहभागी भएर नेपाली हस्त लेखन प्रतियोगितामा आफ्नो लेखन कौशल प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेर पुरस्कार राशि रु. ५०,०००।–, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएकी थिइन् ।

उनका रुचिका विषयमा पुस्तक पढ्ने, नयाँ ठाउँहरूमा घुम्ने र साथीहरूसँग खेल्ने रहेका छन् ।

२. खेलबाट देश चिनाउन चाहने इस्मा

इस्मा राना मगरको जन्म वि.सं.२०७१ साल श्रावण १२ गते, सोमबार, बुबा मोहन राना मगर र आमा मिठु आले मगरको कोखबाट चितवनमा भएको हो । इडन ब्रिज एकेडेमी, टोखा–४, धापासी, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत इस्मा पढाइमा पनि मेधावी छिन् । साथीभाइहरूसँग मिल्न सक्ने, गुरु/गरुआमाहरूको आज्ञाकारी, कर्मचारी/दिदी/दाइलाई आदर सम्मान गर्ने बानीले उनी सबैको प्यारो, असल र अनुशासित विद्यार्थीको रूपमा परिचित छिन् ।

पुस्तक/पत्रपत्रिका अध्ययन, नयाँ ठाउँको भ्रमण र खेलकुद उनको रुचिको विषय हो ।

सानै उमेरमा तेक्वान्दो खेलमा अब्बल बन्न सफल इस्मा राना मगरको हालसम्मको उपलब्धीहरू यसप्रकार रहेका छन् :

१. २४ औं आई.टी.एफ.तेक्वान्दो नेसनल च्याम्पियनसिप (२०२५) : २५–३० तौल समूहमा स्वर्ण पदक विजेता
२. बागमती प्रदेश आई.टी.एफ.तेक्वान्दो च्याम्पियनसिप (२०२५) : २५–३० तौल समूहमा स्वर्ण पदक विजेता
३. काठमाडौं जिल्ला अन्तर–विद्यालय आई.टी.एफ.तेक्वान्दो च्याम्पियनसिप (२०२५) : २५–३० तौल समूहमा स्वर्ण पदकका साथ उत्कृष्ट खेलाडी घोषित ।

३. भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेका शुभन

विक्रम संवत् २०७० साल भदौ १८ गते चितवन जिल्लाको रत्ननगरमा जन्मिएका शुभन भण्डारी पिता पुष्पराज भण्डारी र माता अम्विका चालिसे भण्डारीका जेठा सुपुत्र हुन् । सानैदेखि अत्यन्तै प्रतिभाशाली व्यक्तित्वका धनी शुभनको बाल्यकालका अघिल्ला समय चितवनमै बित्यो । उनले तीन कक्षासम्मको अध्ययन लाइसियम इन्टरनेसनल बोर्डिङ स्कुलमा गरेका थिए । त्यसपछि उनी २०७९ सालमा काठमाडौँ आए र बाल विकास बोर्डिङ हाई स्कुल बूढानीलकण्ठ, काठमाडौंमा कक्षा ४ मा भर्ना भएर अध्ययन गर्न थाले ।

नर्सरी कक्षादेखि नै प्रथम स्थान हासिल गर्दै आएका उनी अहिले कक्षा ७ मा अध्ययनरत छन् । पढ्नेलेख्ने कुरामा उनलाई कसैले भनिरहनु पर्दैन । उनी विद्यालयबाट आयोजना हुने हरेक अतिरिक्त क्रियाकलापमा भाग लिन्छन् र कुनै न कुनै स्थान ओगट्न सफल हुन्छन् । विद्यालयबाट प्रतिनिधि भएर गएका कार्यक्रममा उनी कहिल्यै रित्तो हात फर्कदैनन् । विद्यालयको प्रतिष्ठामा ईँटा थप्ने काममा उनको योगदान मननीय छ ।

एकदमै जिज्ञासु स्वभावका शुभनको अनुहार सधैँ हँसिलो हुन्छ । उनी मृदुभाषी र मिलनसार छन् । उनलाई आफ्नो कला प्रस्फुटनमा एकदमै जोस र जाँगर लाग्छ । उनी मीठा र कर्णप्रिय गीत गाउँछन् । उनी राम्रो सम्भावना बोकेका भविष्यका गायक पनि हुन् । उनको गायकीमा कुनै खोट भेटिँदैन । उनी राम्राराम्रा कविता कोर्न र गुनगुनाउन खप्पिस छन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । उनी नाच्न पनि त्यत्तिकै सिपालु छन् । उनी खेलकुदमा पनि अब्बल छन् । उनी गितार, क्याजोन, मादल, बाँसुरी, ड्रम बजाउन पनि निकै सिपालु छन् । उनले बनाएका चित्रहरू पनि अत्यन्तै उत्कृष्ट हुन्छन् । उनी अत्यन्तै अनुशासित र सहयोगी पनि छन् ।

उनी आफ्नो भाइलाई असाध्यै माया गर्छन् र आमालाई घरको काममा पनि सघाउँछन् । बिदाको बेलामा आफैँले खाजा बनाएर आमा र भाइलाई खुवाउँछन् । पाककलामा पनि सिपालु शुभनलाई सबैले मन पराउँछन् । उनका बानीव्यहोरा पनि अनुकरणीय छन् । बहुमुखी प्रतिभाका धनी शुभनको लक्ष्य भविष्यमा सफल डाक्टर बन्ने हो ।

४. जादुगरी आवाजका धनी राघव

बुबा शङ्कर सिलवाल र आमा राधा पाण्डेको कोखबाट नुवाकोटको बेलकोटगढीमा राघव सिलवालको जन्म भएको हो । वि.सं.२०७२ साल मङ्सिरमा जन्मिएका राघवले आफ्नै जन्मगाउँको भृकुटी मा.वि.बाट अक्षरारम्भ गरेका हुन् । त्यसपछि आफ्नी आमाको जागिरको सिलसिलामा आमासँगै गएका उनले नुवाकोटको मेघाङ गाउँपालिकाको वडा नं.३ स्थित देउराली अङ्ग्रेजी बोर्डिङ् स्कुलमा अध्ययन गरे । राघवले आमाको सरुवासँगै शिवपुरी गाउँपालिका वडा नं.८ मा रहेको महेन्द्र आ.वि.मा पनि केही समय अध्ययन गरे । हाल उनी नुवाकोटको लिखु गाउँपालिका वडा नं.६, छहरे स्थित सेई बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छन् । उनी जहाँ जहाँ जान्छन् हरेक विद्यालयमा उत्कृष्ट विद्यार्थीका रूपमा चिनिदै आएका छन् ।

उनका खास रुचिका विषयहरूमा नृत्य, चित्रकला, पुस्तक पढ्ने र खेल खेल्ने आदि रहेका छन् । उनी एकपल्ट सुनेपछि पन्छी, जनावर, मान्छे आदिको जस्तोसुकै स्वर/आवाजलाई दुरुस्तै नक्कल गर्नसक्छन् । पढाइमा अति तीक्ष्ण प्रतिभा राघव भविष्यमा डाक्टर बन्ने कुरा दरो आत्मविश्वासका साथ बताउँछन् ।

उनले हालसम्म प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू यस प्रकार रहेका छन् :
१. विद्यालयमा जहिले पनि आफ्नो कक्षामा प्रथम हुन सफल,
२. विद्यालययले आयोजना गरेको ‘नेपाली वक्तृत्वकला’मा प्रथम,
३. विद्यालययले आयोजना गरेको ‘अङ्ग्रेजी वक्तृत्वकला’मा तृतीय,
४. विद्यालययले आयोजना गरेको ‘नृत्य प्रतियोगिता’मा चौथा,
५. प्रदेशस्तरीय ‘नेपाली हस्तलेखन प्रतियोगिता’ मा ‘वेलकम कार्ड’ प्राप्त ।

५. असल शिक्षक बन्ने रहर बोकेका उत्सव

अत्यन्तै जेहेन्दार, मृदुभाषी र अनुशासनका त्रिवेणी हुन् उत्सव कार्की । ‘हुने बिरुवाका चिल्लो पात’ भनेझैँ उनी अध्ययनको साथै विद्यालयका हरेक गतिविधिमा अगाडि रहेका हुन्छन् । माता दुर्गा खत्री र पिता उद्धव कार्कीका सुपुत्र उत्सवको जन्म नुवाकोट जिल्लाको छहरेमा भएको हो । हाल उनी टोखा नगरपालिका वडा नं.१, झोरमा बस्दै आएका छन् ।

पढाइमा निकै अब्बल मानिन्छन् उत्सव । उनी पढाइका अतिरिक्त खेलकुद, हस्तलेखन, वक्तृत्वकलामा पनि अग्रस्थानमा रहेका छन् । २०८१ सालमा टोखा नगरपालिका वडा नं.१ झोरको संयोजन र खानेपानी तथा सरसफाई डिभिजन ५ नं. भक्तपुरको सहकार्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा यस पब्लिक इङ्लिस सेकेण्डरी स्कुलका छात्र उत्सव द्वितीय भई नगद रु.१०,०००।– को साथै शिल्ड तथा प्रमाणपत्र पाउन सफल भएका थिए । उक्त प्रतियोगितामा प्रथम पनि यसै विद्यालयका समीर दुलाल भएका थिए भने उनले नगद रु.१३,०००।– सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।

अहिले प्रायः व्यक्तिमा शिक्षण पेशाप्रति वितृष्णा पैदा भइरहेको सन्दर्भमा पनि उत्सव भने भविष्यमा ‘म शिक्षक बन्छु’ भन्ने सोच राखिरहेका छन् । काठमाडौं विद्याकुञ्ज, ग्रीनल्याण्डबाट ९ कक्षामा पब्लिक इङ्लिस सेकेण्डरी स्कुल, झोरमा आएका उनी हाल कक्षा १० मा अध्ययनरत छन् । उनका रुचिका विषयमा खेलकुद र नयाँ स्थानहरूको भ्रमण रहेका छन् ।

६. भविष्यमा वैज्ञानिक बन्ने रियानाको लक्ष्य

ज्योतिकुञ्ज एकेडेमी, लिखु–६, नुवाकोटमा कक्षा १० मा अध्ययनरत रियाना गौतम पिता लक्ष्मण गौतम र माता दुर्गा देवी पौडेल गौतमको कोखबाट तनहुँको शुक्लागण्डकी–११ मा जन्मिएकी हुन् । उनी यस विद्यालयमा कक्षा ४ देखि निरन्तर अध्ययनरत छिन् । पढाइलेखाइमा अत्यन्तै उत्कृष्ट रहँदै आएकी रियाना आन्तरिक तथा बाह्य सबै प्रतियोगिताहरूको साथै कक्षागत परीक्षाहरूमा पनि प्रथमस्थान हाँसिल गर्दै आएकी छिन् ।

नयाँ वैज्ञानिक खोज अनुसन्धानमा रमाउने रियाना खेलकुद र साहित्यमा पनि उत्तिकै रुचि राख्दछिन् । उनी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा पनि उत्कृष्ट पतिस्पर्धा गर्दै हाइजम्प, ट्रिपलजम्प, कबड्डीमा विभिन्न पदक जित्न सफल भएकी छन् । उनी जिल्लास्तरीय ‘साइन्स ओलम्पियाड’ प्रतियोगितामा बट्टार बहुमुखी क्याम्पसममा सहभागी भएकी थिइन् । उनले २०८१ सालमा आयोजना भएको नुवाकोट जिल्लास्तरीय अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । रियाना शैक्षिकसत्र २०८१ मा आफ्नो कक्षामा मात्र हैन मा.वि.तर्फ उत्कृष्ट नतिजा ल्याउन पनि सफल भइन् ।

पढाइमा तीक्ष्ण र लगनशील रियानाको एस्ट्रो फिजिक्स् पढेर भविष्यमा वैज्ञानिक बन्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: