आकाश आवाज मिठो सुनाऊन्
धर्ती बसाऊन् जल कल्कलाऊन्
आगो बलून् मारुत मर्मराऊन्
नेपालको याद सबै दिलाऊन् ॥
साहित्य सङ्गीत कला पिएर
हेर्दै रहूँ जीवनका तरेली
पुर्खाहरूको सपना लिएर
खेलूँ सदा सिर्जनमा सुरेली ॥
स्वदेश मेरो गुरुमन्त्र जानी
थाम्दै रहोस् चेतन ढुक्ढुकीले
जस्तो हुने मारुत भाग्यमानी
सुगन्ध छर्दा वनको बुकीले ॥
मयूर नाचोस् वनकुञ्जभित्र
पर्जन्य आएसरि मेदिनीमा
ओर्लेर आदित्य लिएर चित्र
भर्दै रहून् झिल्मिल इन्द्रिनीमा ॥
कोही यहाँ आउँछ बन्न बागी
मेटिन्छ आफै उसको रवाफ
खकार चिप्रा र सिँघान लागी
शरीर होला किन शुद्ध साफ ?॥
आकाश पाताल जहाँ म टेकूँ
चाहिन्छ यै भूतल टेक्नलाई
समस्त संसार पढेर लेखूँ
मेरै छ भाषा दिल लेख्नलाई ॥
आमा र बाको भरिशक्य पाको
पाएर माया सुख बोल्न पाएँ
नेपालको गौरवका कथाको
भाखा सुसेली मुख खोल्न पाएँ ॥
गुराँस मुस्काउँछ उड्छ डाँफे
मानौँ यहीँ थप्न सुकीर्तिगाथा
जागेर हामी दिनरात आफै
जोगाउनैपर्दछ यो पताका ॥
छन्द : उपजाति ।
कैलासकुञ्ज, बूढानीलकण्ठ–४, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: