आफ्नै धर्म परम्परा चलन वा शिक्षा तथा संस्कृति ।
सारा लोप गराउँदै दिनदिनै छोडी निजी पद्धति ॥
भाषा भेष स्वधर्म कर्म गरिए देखासिकी नक्कल ।
आफैंलाई चिन्हाउँने हृदयमा आउँन्न क्यै अक्कल ॥१॥
कैल्यै सिंह हुँदैन स्याल, मुखले भाका बदल्दा पनि ।
स्यालै हुन्छ, तसर्थ त्यो नकलले बिग्रन्छ झन् जीवनी ॥
होला सार्थक आत्मनिर्भर बने, उल्टै दलाली गरी ।
खल्ती भर्न नछोडिए मुलुकको फेरिन्न है काँचुली ॥२॥
आफ्नो तागत छैन ठिङ्ग उभिने टेकेर आफ्नै पद ।
अर्काकै भरमा परी हरघडी दौडेर के मिल्छ र ?
क्यै मिल्दैन घृणा सिवाय सहजै रोकिन्छ नाकातक ।
बन्नैपर्छ अभावले गरिब नै झन् दुःखमा आहत ॥३॥
यै हो सत्य कुरा, यथार्थ मनले सम्झी बुझी वास्तव ।
आफैमा अनुभूति आर्जन गरे आरोग्यको खातिर ॥
पर्नेछैन गुलाम बन्न कहिल्यै नेपाल –उद्यानमा ।
फुल्लान् फूल अवश्य भै, मगमगी दायाँ भए चन्द्रमा ॥४॥
लाग्दा रोग अनेक दुःख अथवा पर्दा कुनैे आपद ।
सारा साहस आँट धैर्य धनले छोडेर जाँदा पर ॥
किंकर्तव्यविमूढ भैकन कठै ! ज्यादै जलेको मन ।
केही शीतल पार्न सक्तछ सखे ! आरोग्यले, हर्दम ॥५॥
कौडीमा हिमशैलका जडिबुटी आफ्नै गुमाई निधि ।
चर्को मूल्य तिरी विदेशसित त्यै आयात गर्ने थिति ॥
छोडी द्रव्य यहीं प्रशोधन गरी पूरा पुर्याई विधि ।
आयुर्वेद पढी गरौं हित हुने आफ्नै निजी औषधि ॥६॥
लिखु – ६, थान्सिङ्ग, नुवाकोट।
छन्द : शार्दुलविक्रीडित/२०६१।४।०८/चौरजहारी, रुकुम ।
प्रतिक्रिया दिनुहोस्: