कविता

अतिथि सम्पादकद्वारा सम्पादित कविता तथा कथाहरू।

१३ असार २०८२

यसपटकको अतिथि सम्पादकमा वेदव्यास कुल, सामाकोशीचोक, काठमाडौंका छात्रछात्राहरू सुजिना श्रेष्ठ (कक्षा : ९), गृष्मा महत (कक्षा : ८) र अंकित कँडेल (कक्षा : ७) रहेका छन् । यस अङ्कमा विभिन्न विद्यालयका भाइबहिनीहरूका रचनाहरू खोजी, सङ्कलन गरी उनीहरूले नै छनोट तथा सम्पादनसमेत गरेका हुन् ।

आजको हाम्रो सपना
निखिल थापा
कक्षा : ८

सपना बोकी अघि बढ तिमी नडराई
आकाश छुने ती आँखामा सपना सजाई ।
घाम लाग्छ त्यहाँ जब छाया हराउँछ
धैर्य राख तिमी समय अवश्य आउँछ ।

विद्यालयमा मात्र हुन्न सिकाइ, जीवनसँगै हुन्छ
भुइँ छुने मात्र होइन जून छुने जोस बुन्छु ।
धर्ती छोडी आकाश छुने लक्ष्य ठूलो बुन्छु
कहिले साथी हराउँछ, कहिले प्रेमको खोज
कहिले अभाव आउँछ त कहिले पढाइको जोश ।

विश्व आज रोएको छ, युद्ध र घृणाले
मस्तिष्क पग्लिँदै छ प्रविधिका छालले ।
साक्षरता छ हामीमा तर चेतना हराउँदै छ
शिक्षा छ हामीमा तर मानवता विर्साउँदै छ ।
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

सानी नानी र राम्रो बानी
पूर्णिमा गौरुङ्ग
कक्षा : ८

सानी सानी नानी, हिमालकी रानी
पिउँछिन् धेरै पानी, कति असल बानी ।

झोला बोकी स्कुल जानी, राम्रोसँग पढ्नी
कक्षा कार्य सधैं गर्नी, ज्ञानले मस्तिष्क भर्नी ।

गृह कार्य सकेपछि किताब कापी राख्ने
दिनभरिको कामले कति धेरै थाक्ने ।

सबै काम सकाएर समयमै सुत्ने
अझ असल बानी छ है समयमै उठ्ने ।
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

पानी
दृष्टि भण्डारी
कक्षा : ७

पानी हाम्रो जीवन हो,
पिउनुपर्छ पानी ।
पानी खेर फाले हुन्छ,
आफैलाई हानि ।

पानीको न त स्वाद हुन्छ,
न त रङ्ग नै हुन्छ ।
तर पनि पानी महत्त्वपूर्ण हुन्छ ।
मानिस, जनावर, बोटबिरुवा,
सबैलाई पानी चाहिन्छ ।

पानीले गर्दा बगेको छ,
शरीरमा स्वच्छ रगत ।
पानी छ त जीवन छ,
वातावरण सुन्दर छ ।
त्यसैले त पानी संरक्षण गर्नुपर्छ ।

पानी संरक्षण गरे हुन्छ,
आफैलाई फाइदा ।
पानी फोहोर गरे हुन्छ,
आफैलाई हानि ।

खोलानाला, दह, पोखरी हुन्,
पानीका सफा र स्थायी स्रोत ।
पानी छ त छ हाम्रो जिन्दगानी,
त्यसैले पिउनुपर्छ धेरै पानी ।
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं ।

मेरो देश
बिपशा धिताल
कक्षा : ६

मैले आँखा खोलेपछि हिमाल देखेँ
मैले अक्षर चिनेपछि नेपाल लेखेँ ।

हिमालमा घामको पहिलो किरण परेपछि
हिमाल हाँस्छ र धर्ती जग्मगाउन थाल्छ ।

मेची, कोशी, महाकालीको सेरोफेरोमा
भिन्नै भिन्नै भूभाग भए पनि सबैको साझा घर हो ।

हिमाल, पहाड, तराई, पूर्व, पश्चिम जहाँ रहे पनि
हामी एकै देशका सन्तान हौँ, जो जहाँ बसे पनि ।

आँखामाभरि, वरिपरि यै देशको छायाँ छ
मन, वचन र कर्ममा नेपालको मायाँ छ ।

प्रकृतिको सुन्दर देश मायाँको छ खानी
नेपालका सन्तान सारा, छौँ है भाग्यमानी ।
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं ।

बाँजो खेत र कृषिप्रधान देश
स्वयज्ञा सेढाई
कक्षा : ८
अन्न फल्ने ती मलिला खेतमा भवन कसरी ठडिएछ !
गाउँ बाँजो राखी शहरमा ठूला पिलर कसरी गडेछ ?
हुर्क्यो, बढ्यो त्यही गाउँमा अहिले त्यसैको माया लाग्दैन रे !
खेतीपाती हराउँदै गएको यो मुलुक कृषिप्रधान देश अरे !

ओ साथी ! तिम्रै पेट भरिदिनको लागि बसेको छ,
त्यो किसानलाई कसरी गरिब भन्यौ ?
गरिब सोच त तिमी हामीको हो,
जन्म दिने बाआमालाई गाउँमै छोडिदियौँ ।
कीटाणु र जीवाणु खेतमा छैन,
तिम्रो हाम्रो सोचमा रहेछ ।
जिउ त मरेकै थ्यो किसानको
तर संसारको स्वार्थ देखेर मन पनि मरेछ ।

सरकार ! तिमीले तिम्रै पेट भर्न बसेका
किसानको मन भर्न सकेनौ ।
भन्न त बारम्बार कृषिप्रधान देश भन्यौ,
तर एउटै खेतबाली बाँकी राखेनौ ।

विश्वास छ मलाई भविष्यमा अवश्य
युवाहरू उठेर भन्ने छन्,
कृषि पढेर अब आफ्नै देशमा किसान बन्ने छ ।
त्यति बेला सबैको मन गर्वले रमाउने छ,
अनि मात्र हाम्रो देश, कृषिप्रधान ठहर्‍याउने छ ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौँ ।

मेरो पहिलो माया
प्रशन्ना थापा
कक्षा : ९
तिमी मेरा पहिलो माया
र तिमी मेरो अन्तिम माया
जब तिमी जिन्दगीमा आयौ
मेरो जिन्दगी रमाइलो बनाइदियौ ।

भन्छन्, पहिलो मायाले धोका दिन्छ
खै मलाई त लाग्दैन
सबै मानिस एकै हुन्न,
तिम्रै यादमा भुलेको हुन्छु म ।

पहिला त एकअर्कालाई चिन्दैनथ्यौँ
तर अहिले एकअर्काबिना बाँच्न सक्दैनौँ
कस्तो रैछ यो माया भन्ने चिज !
साँचो माया एकपटक बसेपछि कहिल्यै नछुट्ने ।

हामी पनि मानिस हो कहिले काहीँ त
सानो सानो झगडा परिहाल्छ त !
हाम्रो झगडा पनि के झगडा
एकैछिनमा मिल्ने हुन्छ ।

तिमी मेरो पहिलो माया हौ
र तिमी मेरो अन्तिम माया पनि,
म कहिल्यै भुल्दिन
जुनी जुनी, मरेर गए पनि !
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौँ ।

सपना पूरा गर्ने छोरी
जेनिसा शाही
कक्षा : ८
मेरा आमाबा मेरो भगवान्‌
मेरा आमाबा मेरो स्वप्नद्रष्टा
मेरा आमाबा मेरो दुखको साथी
मेरा आमाबा मेरो जिउने आधार ।

बा खाडीको तातो घाममा
पसिना बगाउनुहुन्छ मेरा लागि
आमा अभावहरूसँग जुझ्दै
मेरा आवश्यकता जोहो गर्नुहुन्छ
कहिल्यै बाच्नु परेन मैले अभावमा ।

अब म ठूली हुँदैछु
जीवन कसरी चल्छ बुझ्दैछु
बाले घर कसरी धान्नु भएको रहेछ
बिस्तारै थाहा पाउँदैछु
आमाले किन गाली गर्नुहुन्छ
आज महसुस गर्दैछु ।

जीवन लामो रहेछ
हिड्ने बाटो अप्ठ्यारो रहेछ
रातपछि दिन हुँदो रहेछ
दुःखपछि सुख आउँदो रहेछ
दुःखमा साथ छाड्ने पनि हुँदारहेछन्‌
सुखमा साथ दिने पनि हुँदारहेछन्‌
सबै बुझ्ने भएकी छु ।

मलाई थाहा छ
पसिना बगाउनेहरू असफल हुँदैनन्‌
सपना देख्नेहरू बाटोमै हराउँदैनन्‌
र मलाई यो पनि थाहा छ
बा ! आँट गर्नेहरू कहिल्यै पछाडि पर्दैनन् ।

अब तपाईंहरूकी छोरीले
तपाईंहरूले गरेको दुःख
सुखमा बदल्ने छु
दुःखमा छाडिगएका हरूलाई
केही बनेर देखाउने छु
तपाईंहरूको शिर सँधै उचो राख्ने छु
तपाईंहरूको सपना पूरा गर्ने छु ।
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं ।

शान्तिको दियो
खुशीपल परियार
कक्षा : १०
आज पनि न्याउलीले बास पाएन कि
कुहुकुहु कोइलीले गीत गाएन कि ।
किन होला वसन्तलाई छाडेर पो गैछ
सालघारीको वनमा हेर ऊ त रुँदै रैछ ॥

बुझीहेर उसको पिर कुन खालको रै’छ
नेपालीको सन्तानको बेहालत पो रैछ ।
रातभरि दिनभरि चल्यो बारुद गोली
खेलेका छन् दाजुभाइले रगतका होली ॥

कोही आमा भन्थे अरे कोही पानी भन्थे
यस्तो दुःख देखी न्याउली धुरुधुरु रुन्थे ।
कुन दानवले ल्यायो होला दाजुभाइमा फाटो
नगरौँ न दाजुभाइमा यस्तो मारकाट ॥

दाजुभाइमा हुन थाल्यो किन हानाहान
एउटै देशमा जन्मेका हामी हौं सन्तान ।
रिस, राग मनबाट सबले फाल्नुपर्छ
हामी मिली शान्तिको दियो बाल्नुपर्छ ॥
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं

लघुकथा
सन्तानको माया
आशा तामाङ
कक्षा : ९
टोल नै आतङ्कित हुने गरेर कालो कुकुर रोएको धेरै भएको थियो । बाटो हिँड्ने मानिसलाई टोक्ने, झम्टने गरेर जताततै त्रासदीपूर्ण वातावरण सिर्जना गरेको थियोे । उसको व्यवहारले आजित भएर मानिसहरू उसलाई देख्नासाथ आक्रमण गर्थे । ऊ शरीरभरि घाउ नै घाउ लिएर हिँडेको थियो ।
एकदिन उसलाई सेतो कुकुरले सम्झाउँदै भन्यो, ‘तिमी किन जानाजान कालको मुखमा हात हाल्दै छौ ? मान्छेहरूलाई टोकेर कति हिँड्छौ ? छाडिदेऊ यी सब काम गर्न ।’
कालेले तरक्क आँसु झार्दै भन्यो, ‘के गर्नु त सेते, पशु नै भए पनि सन्तानको माया लाग्ने रहेछ । मेरा भर्खरै जन्मिएका सन्तानलाई मान्छेहरूले खोलामा लगेर नबगाइदिएका भए म कहाँ रिसाउँथेँ त यिनीहरूसँग !’
सेते कुकुर काले कुकुरलाई केही भन्ने आशयले पछाडि फर्केको मात्रै के थियोे, काले कुकुरले संसार छोडिसकेको रहेछ ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं ।

लघुकथा
एकताको बल
विशाल खनाल
कक्षा : ७
कुनै एउटा नदीमा गोही बस्थ्यो । ऊ आफूजस्तो शक्तिशाली कोही छैन भन्ने सोच्थ्यो । नदीको किनारमा आएर बस्थ्यो अनि सानातिना जनावरलाई आक्रमण गर्थ्यो ।
गोहीको हर्कत देखेर सबै उसँग रिसाएका थिए । एकपटक साना जनावर बैठक बसे । सबैले उसलाई मार्ने योजना बनाए । यो कुराको सुइँको पाएर गोही झनै रिसायो । उसले आफूलाई कसैले केही गर्न नसक्ने कुरा बताउँदै सबैलाई एकसाथ आक्रमण गर्‍यो तर यो पटक अरू जनावर ऊसँग डराएनन् । सबै मिलेर उसलाई आक्रमण गरे । उनीहरूको एकताको अगाडि गोहीको केही लागेन । उसले यो संसार छोडेर सदाको लागि आँखा चिम्लियो ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं ।

भाइ
सुवासना पाण्डे
कक्षा : ८
जीवनको अन्तिमसम्मको मित्र भएर
बस ल मेरो भाइ
जिन्दगीको हरेक पानामा
तिमी जहिल्यै सम्झ है मलाई
त्यसैले त म भन्ने छु तिमीलाई भाइ !

एक्लोपन महसुस हुन्छ नहुँदा बाआमा
प्रिय भाइ आएर बस है मेरो छेउमा ।
मेरो प्रिय मित्र समान छौ तिमी
यही कुरा त भन्छु म रातबिहानी ।

जति टाढा गए पनि दुःख दिन छोडेनौ
यो दिदीभाइको सम्बन्ध कहिल्यै तोडेनौ ।
तिमी नै हौ मेरो प्रिय सानो पुन्टे भाइ !
अब धेरै नसताऊ है बारबार मलाई
नेसनल युनाइटेड स्कृल
बूढानीलकण्ठ–८, गणेशचोक, काठमाडौं ।

मलाई पनि बुझिदिनु न !
काश्वी थापा
कक्षा : १०
‘यस्तो छोरी हुनुभन्दा त नजन्मेको भए हुन्थ्यो’
कति सजिलै भन्न सक्छ्यौ है आमा !
साँच्चै म नभएको दिन के सहन सक्छ्यौ र आमा !
म कोसिस गर्दै छु, प्रत्येक रात उठेर पढ्दै छु ।

फलानोको छोरी हेरन भन्नुहुन्छ !
कुनै दिन आफ्नो छोरीको मन पनि बुझिदिनू
म गर्वको साथ ‘मेरी आमा !’ भन्छु कुनैदिन
मेरी कति राम्री छोरी तपाईंले भनिदिनू ल ।

सम्पूर्ण गुण ममा हुनुपर्छ र !
सम्झाए पनि त बुझ्छु म,
सबैको अगाडि गाली नै गर्नुपर्छ र !
बुझ्छु म मेरो कारण रुन्छ्यौ तिमी तर
तिम्रो वचनले त म भित्रभित्रै मरिसकेँ ।

खान, लाउन दिएकै छु, नभन्नु न आमा
मलै पनि त तपाईंको लागि धेरै त्याग गरेकी छु ।
तर फरक यत्ति छ आमा !
तपाईं सुनाउँदै हुनुहुन्छ, अनि म लुकाउँदै छु ।

साथीले नयाँ लुगा किन्दैमा म कहाँ किन्छु र !
साथीहरू घुम्न गए भन्दैमा म कहाँ जान्छु र !
आवश्यकताभन्दा ठूलो रहर छैन नि ममा
यो गरे हुन्छ कि त्यो गरे हुन्छ, बुझ्दै छु त म ।

छोरी कोसिस गर्दै छे सोचेर तपाईं बुझिदिनु न
यो भिडमा अलमलिन सक्छु, मेरो साहस बनिदिनु न ।
तपाईंको ढल्किँदो उमेर थाहा छ मलाई पनि
घरमा के कस्तो अवस्था छ, थाहा छ मलाई पनि ।

म घुमेको देख्नुहुन्छ, म गुम्सेको देख्नुहुन्न
फोन चलेको देख्नुहुन्छ, मन जलेको देख्नुहुन्न ।
सानै त छु म, बिग्रनसक्छु, फकाइरहनुस् न
बाटो बिराउनसक्छु, सम्झाइरहनुस् न ।

सबै कुरा जित्नसक्छु म, तपाईं साथी बनिदिनुस् न
पुग्छेस् एकदिन ठूलै ठाउँमा, नआँत्ती भनिदिनुस् न ।
तपाईकै मुख हेरेर त बाँच्छु म, न झर्किदिनुस् न
म लायककी छोरी बन्ने छु एकदिन, पर्खिदिनुस् न ।
नेसनल युनाइटेड स्कृल
बूढानीलकण्ठ–८, गणेशचोक, काठमाडौं ।

मेरो देश
कृस्ता खड्का
कक्षा : ८
सुन्दर, शान्त प्रकृतिपुञ्ज मेरो यो देश
बस्छन् रमाई यहीँ अनेक जाति विशेष ।

हिमाल, पहाड, तराई कोही छैन पराई
अघि बढ्छौँ हामी होष्टेमा हैँसे मिलाई ।

मोती फलाउने मेरो यो सुन्दर भूमि
आउँछन् सारा चराचुरुङ्गी यहीँ नै घुमी ।

हिमालहरू मुस्कुराउँछन् देखाइ सेता दन्त
स्वर्गीय यो अनुभूति पाइन्छ काँ अन्त !

सीता, बुद्ध, अरनिको जन्मेको यो थलो
जोगाउनुछ सबै मिली झ्याउरे, रोदी, सेलो ।

बलिदान गोर्खालीको अझै मेट्या छैन
कसै सामु झुक्ने शिर नेपालीको हैन ।
नेसनल ब्लुमिङ फ्लावर एकेडेमी
बूढानीलकण्ठ–४, रुद्रेश्वरचोक, काठमाडौं ।

अञ्जान
आयुष कार्की
कक्षा : ८
भरिएको छ यो मन, पोखिएको त हैन,
जिम्मेवारी पूरा गरिरहेको छु, नसकेको हैन ।
कसैको दिल दुखाएँ होला, अपमान गरेको त हैन,
धेरै गल्ती गरेँ होला, नसिकेको त हैन !

कसैमाथि हात उठाएँ होला, बिनाकारण त हैन,
चोटहरू धेरै पाएँ, तर ती पराईबाट हैन ।
पाउन त धेरै पाएँ मैले, तर त्यो साथ हैन,
माफी मागेँ धेरै मैले, तर स्वीकार्ने कोही छैन ।

छन त छन् आफ्ना भन्ने, तर मेरालागि हैनन्,
हार मान्न खोजेँ होला, तर मानिसकेको त छैन ।
अञ्जानमै छु अझै, कसैको प्यारो बन्न सकेको छैन,
आशमै छु अझै पनि, आश गुमाएको त छैन ।
नेसनल ब्लुमिङ फ्लावर एकेडेमी
बूढानीलकण्ठ–४, रुद्रेश्वरचोक, काठमाडौं ।

मेरी गुरुआमा
सर्गम थापा
कक्षा : ८
आमाजस्तै अनुभूत गराउने हाम्री गुरुआमा
सहयोग गर्न तत्पर हुनुहुन्छ, हरेक समस्यामा ।

विद्यालयमा सहजता दिने बन्नुहुन्छ चौतारी
किताबका पानाहरू पल्टाउँदा बन्नुहुन्छ दौतरी ।

सञ्चो हुन्छ घाउमा लगाउँदा नि मलम
उनकै कारण सक्षम छु म चलाउन कलम ।

असल संस्कार दिएर बनाउनुभयो ज्ञानी
यात्रा सुरु गर्छु हजुरलाई नै आदर्श मानी ।

हरेक समस्यामा लड्ने छु म डटेर
केही काम गर्नेछैन नैतिकताबाट हटेर ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं ।

मेरो साथी कलम
सान्भी डंगोल
कक्षा : ७
कलम मेरो साथीको नाम हो,
पढ्ने, लेखाउने उसको काम हो ।

सानो छ रूप तर काम ठूलो गर्छौ,
कालो नीलो मसी बोकी मनमा कुरा भर्छौ ।

हातमा लिँदा तिमीलाई सोचाइ बल्झिन्छ,
कागजमा शब्द कोर्दा भाव पोखिन्छ ।

कथा, कविता, चिठीहरू तिमीबाटै जन्मिन्छ,
मनका सारा भावहरू तिमीबाटै बुझिन्छ ।

विद्यार्थीको सहारा, लेखकको शक्ति,
तिमीबिना अधूरो छ हाम्रो यो युक्ति ।

भविष्य कोर्न सकाउँछौ सपना बुन्नलाई,
तिमी नै हो साथी मेरो, जीवन गुनगुनाइ ।

मेरो कलम बोल्छ, सपनाहरू सजाउँछ,
सत्यका लहरहरू मनभित्र जगाउँछ ।

मेरो कलम कल्पनाको पखेटा उडाउँछ,
स्वतन्त्रता, विचारको संसार बुभाउँछ ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं ।

प्रस्तुति : वेदव्यास कुल, सामाकोशीचोक, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: