कविता

सम्झनामा भानु

२९ असार २०८२
उत्तम विचार भेटुवाल

छ टोप भादगाउँले मुसार्छु ओठका जुँगा
बनिन्न भानु हारमा खिपेर शब्दका थुँगा ।
सुधा पिएर काव्यको सकिन्न मेट्न तिर्सना
बनिन्छ भानुभक्तझैँ गरेर दिव्य साधना ॥१।

गरेर घाँस दाउरा हुनन् भलो चिताउने
म भानुभक्त भै धनी त्यसै पला बिताउने ।
सुनेर आर्तका कुरा सुमार्ग कोर्न तम्सिए
रचेर आदि कालमा अमूल्य कीर्ति जो दिए ॥२।

हुँदैन आदि सिर्जना गरेर वर्तमानमा
हुनेछ आदि सिर्जना गरे अनादि कालमा ।
सिँचेर काव्यको मसी विचार पोख्न तम्सिने
अवश्य भानुभक्त हुन् निखार भाव पस्किने ॥३।

असारमा खनी गरा म पोख्छु भाव खेतमा
फलादि मिल्छ त्यो भनी अनन्त काव्य चेतमा ।
पढेर भानुभक्तका सिलोक लोक जान्दछन्‌
हजार लाखमा उही रहेछ एक ठान्दछन् ॥४।

नवीन भानु निस्किए गरी दुरुस्त नक्कल
रहन्छ भिन्नता त्यहाँ जहाँ रहन्न सक्कल ।
उठानमा जुटे उनी जुरुक्क पार्न भाषिका
लिएर नाम भानुको सुवास छर्छ मृत्तिका ॥५।
छन्द : पञ्चचामर।
लिखु–६, थानसिङ, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: