१८७१ साल असारको मास
बन्न पुग्यो सबैलाई अति नै खास
२९ गते उदाए भानु तनहुँको गाउँमा
आशा किरण छर्दैछर्दै रम्घा भन्ने ठाउँमा ।
लालनपालन खुबै राम्रो बाल्यकालमा पाए
खुबी तिनको देखेर लौ सबै चित खाए
उज्यालो त्यो वदनमा लाम्चा राम्रा आँखा
श्लोक ती खुब गाउँथे गुन्जाइ वनपाखा ।
मिलनसार, मृदुभाषी थिए अति जाती
खुसी थिए सबैजना तिनको व्यवहारमाथि
बालकमै थियो तिनको परिपक्व काम
मनमा तिनको रत्तिभर थेन छलछाम ।
अर्ती पाई घाँसीको जीवन मूल्य खोजे
लोककल्याण गर्न भनी साहित्यलाई रोजे
जन्मेपछि गर्नुपर्छ काम दामीदामी
मनन् गरे मनैदेखि दिलको धड्कन छामी ।
झट्ट आयो तरङ्ग त्यो रामायणको बारे
सोचमग्न अनुहारलाई उज्यालोले भरे
सिर्जनाको कलम बोकी झट्ट काम थाले
रामायणलाई उल्था गर्न कदम पनि चाले ।
इच्छा धेरै भइकन संस्कृतका दाना
केलाउन नसकेर हेर्थे मात्रै पाना
लोकको यो व्यथा बुझ्ने उनी मात्रै भए
नेपालीमा रामायण लेख्न व्यस्त रहे ।
रातदिनको साधनाले इच्छा फल्यो फुल्यो
उनीप्रति कृतज्ञ भई लोकको दिल खुल्यो
लेख्न थाले मौलिक कृति नमानेर झर्को
उनीभन्दा अघि आदिकवि थेन अर्को ।
रामगीता, भक्तमाला, वधूशिक्षा लेखे
प्रश्नोत्तरमा पाठकले हीरामोती देखे
भाषाको हो एकीकरण गरे देशैभरि
नेपाल आमा मुस्कुराइन् यिनका कीर्ति हेरी ।
अज्ञानलाई हटाउने दिए दिव्य ज्ञान
साहित्यमा रह्यो यिनको उच्च सीप ज्ञान
जति दुःख आएपनि लक्ष्य गरे पूरा
सञ्जीवनी बुटीसरी बने उनका कुरा ।
मोतीरामले चिनाए उनलाई सबैतिर
सगरझैँ उचाइमा उठ्ने गरी शिर
राम्रो काम गर्ने अजरअमर बन्छन्
यही कुरा उनका सबै कृतिहरू भन्छन् ।
नामजस्तै साहित्यको आकाशमा चम्के
देशको लागि केही गर्न सधैँ अघि लम्के
अमर रहे आदिकविको पैरेर ताज
युगले नै सम्झिँदै छ गर्व गर्दै आज ।
प्रतिक्रिया दिनुहोस्: