कविता

बाल कविता : कलम

९ श्रावण २०८२
अम्बिका धिताल

निलो, कालो, हरियो, रातो थरीथरी
रङ्ग्याइदिन्छ अक्षरले आहा ! पानाभरि
चित्र पनि कोर्दछ सबको मन छोएर
कलमले लेखिदिन्छ मनको बह धोएर ।

राम्रो लेख्दै लेख्दै गए पुर्‍याउँछ माथि
हामी सबै विद्यार्थीको कलमै हो साथी
डाक्टर, पाइलट, शिक्षक बनाउने कलम
दुःख पीडा पर्दाखेरि लगाइदिने मलम ।

अन्धकार हटाउने कलमै हो दियो
उन्नति र प्रगतिमा सबको बन्छ मियो
रङ्ग, रूप, आकारप्रकार अनेक थरी भेष
बगली र झोला अनि सजाइदिन्छ केश ।

कलमले मानिसको कोरिदिन्छ गाथा
लेखौँ, कोरौँ पछ्याऔँ सधैं नछोडौँ साथ
बलियो छ कलम यो सबको हतियार
कहिल्यै पनि नफालौ गरौं धेरै प्यार ।

गीत, कथा, कविता र नाटक लेख्छ धेरै
असल मान्छे बन्नलाई लाग्दैन नि बेरै
वैज्ञानिक बनेका हुन् कलम नै जोतेर
इन्जिनियर, पाइलट बने कापी पोतेर ।

हत्या, हिंसा अन्त्य गरी विश्व शान्ति ल्याउने
कलम हो शक्तिशाली प्रयोग गरौँ जहिले।
कलमको प्रयोगले सधैँ बढाउँछ शान
सत्कर्ममा हिँडाएर सबको राख्छ मान ।

कमलविनायक, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्: