लेख

त्रिवेणी धाम नुवाकोट एक परिचय 

१४ श्रावण २०८२
मधुसूदन सिटौला

नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं. ५ र शिवपुरी गाउँपालिका वडा नं. ६ र ७ मा त्रिवेणी धाम अवस्थित छ । समुन्द्री सतहबाट करीव ७३० मिटर उचाइमा रहेको र काठमाण्डौबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै २५ किमी (उत्तर) मा त्रिवेणी धाम पुग्न सकिन्छ । नुवाकोटको सदरमुकाम विदुरबाट २७ किमी पूर्वमा र मेलम्चीबाट ३५ किमी. पश्चिममा यो धाम पर्दछ । मध्य पहाडी लोकमार्गमा पर्ने हुँदा देशको जुनसकै भागबाट पनि सजिलै पुग्न सकिन्छ ।

यस जिल्लाको पाटी भञ्ज्याङमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणतिर बग्ने शिवमति खोला, शिवपुरी गाउँ पालिकाको वडा नं.  ६ र ७ बाट उत्तरतिर बग्ने सत्यावति खोला र पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या मन्दिर छेउमा रहेको इन्द्रेणी झरना हुँदै दक्षिणतिर बग्ने कन्यावति खोलाको संगमस्थान नै त्रिवेणी धाम हो ।
हाम्रो धर्म शास्त्रमा त्रिवेणी धामलाई अति पुण्य र पवित्र स्थल मानिन्छ । शिवमति, कन्यावति र सत्यावति खोलाको संगमस्थान त्रिवेणीधामको विशेष महत्व रहेको छ । हिन्दूहरू को पवित्र घाटहरूमा देवघाट, प्रयाग, वराह क्षेत्र, वेत्रावति पर्दछन् । ती घाटहरू भौतिक रूपमा दोभान नै हुन् ।

त्रिवेणी धाममा कार्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्दछ । भक्तजनहरूले नारायण पूजा गरी ल्याएको तोरण त्रिवेणी धामको खोलामा टाङ्ने गर्दछन् र स्नान गरी पुण्य प्राप्त गर्दछन् । यस स्थानमा पौष कृष्णपक्षको औँशिको दिनमा आफ्ना पितृहरूको नाममा तीर्थ श्राद्ध गर्दछन् । त्यसैगरी माघे सङ्क्रान्तिको दिनमा स्नान (मकर स्नान) गरी भक्तजनहरूले पुण्य प्राप्त गर्दछन्

यस धाममा रहेको राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको राति विशेष पूजा गरी श्री कृष्णको आराधना गरिन्छ र भोलिपल्ट श्रीकृष्ण भगवान् को  रथयात्रा गरी विभिन्न स्थानहरूमा परिक्रमा गरिन्छ । त्यसैगरी बालाचतुर्दशी, शिवरात्रि, तीज, साउने सोमबारको दिनहरूमा पनि भक्तजनहरूको भीड लाग्दछ र पूजा आराधना गरिन्छ । यस धाममा रहेको भजन घरमा हरेक शनिवार भजन कीर्तन गरिन्छ ।

यस स्थानमा जलेश्वर महादेव, खड्कुलेश्वर महादेव, राधाकृष्णको मन्दिर र १०८ शिवलिङ्गको पनि स्थापना गरिएको छ । जेष्ठ नागरिक आश्रम, क्रियापुत्रि भवन, धर्मशाला पनि निर्माण गरिएको छ । यस धाममा २०८१ वैशाख २८ गते अक्षय तृतीयाको दिनदेखि श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुलको स्थापना गरी पठनपाठन सञ्चालन गरिएको छ । देशका विभिन्न जिल्लाहरुबाट बटुकहरू आएर गुरुकुलमा अध्ययन गरिरहेका छन् ।

यस त्रिवेणी धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नको लागि नुवाकोट जिल्लामा रहेका देवीघाट, दुप्चेश्वर महादेव र त्रिवेणी धामलाई एकिकृत तीर्थ स्थलको रूपमा विकास गर्ने काम भइरहेको छ । यसले गर्दा देश विदेशबाट धार्मिक तीर्थ यात्रीहरूको आगमनले यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको रोजगारी र आय आर्जनमा वृद्धि गर्न टेवा पुग्दछ ।

यस धामको गुरु योजना अनुसार निर्माण कार्य गर्नको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग प्राप्त भइरहेको छ । धामको वृहत्तर विकास निर्माणको लागि स्थानीय राजनीतिक दल, समाज सेवी, बुद्धिजीवी र सर्वसाधारणहरूले निरन्तर सहयोग गरिरहेका छन् ।

धार्मिक र सांस्कृतिक आस्था भएको यस त्रिवेणी धामको बारेमा प्रयागराजका पाण्डा (पण्डित) हरू पनि जानकार छन् । त्यहाँ (नेपालमा) नै पवित्र त्रिवेणी धाम हुँदाहुँदै किन यहाँ आएको ? भनेर प्रतिप्रश्न गर्दछन्। यहाँ भारतको प्रयागको बराबर पुण्य मिल्दछ, भन्ने  उनीहरूको भनाइ छ ।

यस ऐतिहासिक, धार्मिक तीर्थस्थलको संरक्षण, आफ्नो धर्म संस्कृतिको रक्षा र गुरुकुलीय परम्परालाई निरन्तरता दिनको लागि विश्वको जुनसुकै ठाउँमा बस्नु भएका भक्तजन र संघ संस्थाहरूमा यस धाममा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध पनि गरिन्छ ।

शिवपुरी -६, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: