ज्योतिको २२०औँ कविता यात्रामा “साहित्य संसार”लोकार्पित

४ भाद्र २०८२

काठमाडौ। ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा काव्य र कलाको समर्पणले भरिपूर्ण साहित्यिक उत्सवको रूपमा सम्पन्न भयो। । कार्यक्रमको सभापति ज्योति साहित्य प्रतिष्ठान तथा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष मणिराज सिंह, प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार, विशिष्ट अतिथि प्रा.डा. भरत भट्टराई, प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष वियोगी बुढाथोकी, साहित्यकार नारायण तिवारी, नरेन्द्रराज पौडेल, विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय उपाध्यक्ष सुनिता राई कन्दङ्वाले एक समारोहमा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको वार्षिक मुखपत्र “साहित्य संसार” को लोकार्पण गर्नु भयो।

उक्त कृतिको समीक्षा प्रा डा भरतकुमार भट्टराईले गर्नु हुँदै यो कृति समग्रमा बिनेसामको तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन २०२४को सम्मेलन विशेषाङ्क रहेको र बिनेसामको सम्पूर्ण गतिविधि थाहा पाउन सकिने महत्वपूर्ण दस्तावेज हो भन्नू भयो। यसको गहिरो साहित्यिक योगदान भविष्यसम्मै रहने छ भन्ने कुरा थप्नुभयो।

सभापति मणिराज सिंहले “साहित्य संसार” को लोकार्पण गर्न पाउँदा हामी हर्षित मात्र छैनौँ। समग्र साहित्यिक माहोलमा आत्मीयता र मर्यादाको नवीन सन्देश थपेको अनुभूती भयो भन्नूभयो। कविताले राष्ट्रलाई बाँध्ने सूत्र हो भन्ने भावका साथ यो गोष्ठीले साहित्यिक जगतमा नयाँ उत्साह ल्याएको छ। सिर्जनाको यो यात्रा केवल कार्यक्रम मात्र नभई, नेपाली साहित्यप्रेमीका लागि एउटा भावनात्मक उत्सव बन्यो, जहाँ हर शब्दमा आत्मा थियो, र हर कविमा देश बोलेको थियो भन्नूभयो।

काव्यांश नेपाल मण्डलका अध्यक्ष जायस जयाले संस्थाको संक्षिप्त परिचय र स्वागत मन्तव्य प्रस्तुत गर्दै माहोलमा ऊर्जा थपेकी थिइन्।

कार्यक्रममा गीतकार भरत बम्जनलाई कविता यात्रा सम्मान प्रदान गरियो। साथै साहित्यकार अञ्चु सुवेदी, सुनिता अधिकारी र जाँयस जयालाई पनि साहित्य सम्मानद्वारा सम्मानित गरियो।

उक्त कार्यक्रममा मधुसुदन प्रसाद घिमिरे, सुनिता अधिकारी, योगाज राजन, इन्दिरा चापागाईं, ललिता दोषी, नरेन्द्रराज पौडेल, नारायण तिवारी, निरा श्रेष्ठ, भरत बम्जन, गोविन्दमान सिंह कार्की, तिलक गाउँले, संगीता खरेल, बुद्धिराज पाण्डे, वियोगी बुढाथोकी, केदार मैनाली, रश्मी रिमाल, राकेश कुमार झा, हिमानी झा लगायतका स्रष्टाहरूले सिर्जना वाचनद्वारा उपस्थितिमा आकार्षण थप्नु भएको थियो।

कार्यक्रम सञ्चालन सुसंस्कृत काव्य–भावले ओतप्रोत शैलीमा साहित्यकार अञ्चु सुवेदीले गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्: