लघुकथा

पुरस्कार

२३ भाद्र २०८१

भदौ महिनाको २२ गते ! सरकारले धुमधामका साथ निजामती सेवा दिवस मनाइरहेको थियो । देशभरिबाट छानिएका इमान्दार कर्मचारीहरूलाई पुरस्कार वितरण गर्न प्रधानमन्त्री आफैँ आएका थिए । केही कर्मचारीहरू इमान्दारिताको खादा ओढेर प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्न ब्यग्र भएर पर्खिरहेका थिए ।

कार्यक्रम भव्यतापूर्वक चलिरहेको थियो । शिवप्रसाद र गोपालबहादुरले पनि उत्कृष्ठ कर्मचारीका रूपमा प्रधानमन्त्रीको हातबाट पुरस्कृत हुने सौभाग्य पाए ।

मन्तव्यका क्रममा अतिथिहरूले जोडदार मन्तव्य व्यक्त गरे । पुरस्कार छनौट समितिका पदाधिकारीहरूले पनि पहिले पहिलेका कमी कमजोरीलाई सच्याएर यो पटक असाध्यै इमान्दार, कर्तव्यनिष्ठ र दक्ष कर्मचारीहरूलाई पुरष्कारका लागि सिफारिस गरिएको दावी प्रस्तुत गर्दै थिए ।

कार्यक्रमका अन्य वक्ताले पनि निकै इमान्दार कर्मचारीहरूलाई पुरष्कृत गर्न पाइएकोमा खुशी व्यक्त गर्दै आफ्नो मन्तव्य टुङ्ग्याए । कार्यक्रमका आयोजक मध्येका एक अतिथिले माइकको अघि उभिएर शानदार मन्तव्य व्यक्त गरे, ‘तपाईं पुरस्कृत हुनुहुने कर्मचारीहरूको इमान्दारिताबाट यो सरकार खुशीले गद्गद् भएको छ । तपाईंहरूले यसै गरी देशको सेवा गर्नुहोला । यस्तै कर्मचारी हुने हो भने यो देश दश वर्षमा धेरैमाथि पुग्नेछ । यति भन्दै…..’

तर शिव र गोपालको अनुहारमा खुशीको दियालो धेरैबेर बल्न पाएन ।

अख्तियारको टोलीले कार्यक्रम स्थलमै आएर उनीहरूलाई हत्कडी लगाउँदै भने, ‘अकूत सम्पति जोडेको र सेवाग्राहीसँग रिसवत लिएको आरोपमा तपाईंहरूलाई पक्राउ गरेका हौँ ।’

लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया दिनुहोस्: