आफू बाँची अरूलाई बचाउन पलापला ।
प्रयत्न गर्नु हो पैलो जिन्दगी जिउने कला ॥१॥
लोभ, मोह, महान् शत्रु सम्झेर स्वार्थको गला ।
निमोठ्न सक्नु हो राम्रो जिन्दगी जिउने कला ॥२॥
आफू भन्दा बडालाई गर्दै आदर सर्वदा ।
सानामा गर्नु हो माया, जिन्दगी जिउने कला ॥३॥
कडा आलस्यता त्यागी कर्तव्यपथमा सदा ।
हिँड्नु नै हो अझै राम्रो, जिन्दगी जिउने कला ॥४॥
परोपकारको पाठ वृक्षबाट सिकी सदा ।
कल्याण गर्नु हो नित्य, जिन्दगी जिउने कला ॥५॥
परजीवी नभै आफू बन्नू सक्रिय सर्वदा ।
आत्मनिर्भता नै हो, जिन्दगी जिउने कला ॥६॥
बल, बैंस र पैसाले उचाले पनि सर्वदा ।
संयमी बन्नु हो शुद्ध, जिन्दगी जिउने कला ॥७॥
विद्या, पद, प्रतिष्ठाले अग्लिँदा नम्र भै सदा ।
बाँसझैँ झुक्नु हो राम्रो, जिन्दगी जिउने कला ॥८॥
निन्दा, नास्तिकता हैन, न त हो अप्रसन्नता ।
अखण्ड आन्ति हो श्रेष्ठ, जिन्दगी जिउने कला ॥९॥
विश्वभातृत्वको भाव, सदाचार, सहिष्णुता ।
अध्यात्म बल हो ज्यूँदो, जिन्दगी जिउने कला ॥१०॥
परपीडक वा रक्तपिपासु नबनी जुका ।
दया, दाक्षिण्य, सेवा हो, जिन्दगी जिउने कला ॥११॥
धर्म, आस्तिकता, श्रद्धा, सत््सङ्गति, प्रसन्नता ।
शान्ति, सद्भावना नै हो, जिन्दगी जिउने कला ॥१२॥
पति क्रुर नहून् नित्य बनून् पत्नी प्रियंवदा ।
दाम्पत्य प्रेम हो मुख्य, जिन्दगी जिउने कला ॥१३॥
नभै क्रोधमुखी नित्य मुस्काऊन् सर्वमङ्गला ।
अनन्य प्रियता नै हो, जिन्दगी जिउने कला ॥१४॥
मत्त, प्रमत्त, उन्मत्त, हतोत्साह नभै कडा ।
खुःखमा धैैर्य धर्नु हो, जिन्दगी जिउने कला ॥१५॥
दाजुभाइ, दिदीबैनी परस्पर स्वमं गला ।
मिलाई बस्नु हो बेस, जिन्दगी जिउने कला ॥१६॥
चोरी, जारी, ठगी, घूस हैन यो दण्डहीनता ।
इमान, सत्यनिष्ठा हो, जिन्दगी जिउने कला ॥१७॥
छल, छद्म, बलात्कार हुँदै होइन वैरता ।
विशेष मित्रता नै हो, जिन्दगी जिउने कला ॥१८॥
रुखो वायसको हैन, तुल्य कोकिलको गला ।
मधुरो, सत्य बोली हो, जिन्दगी जिउने कला ॥१९॥
सभ्यता, भव्यता, आस्था, समता सुविनम्रता
दैवी सम्पत्ति हो जिम्दो, जिन्दगी जिउने कला ॥२०॥
अनास्था, धृष्टता, हैन, न त हो असहिष्णुता ।
विशिष्ट शिष्टता नै हो, जिन्दगी जिउने कला ॥२१॥
अभावसित सङ्घर्ष गर्ने भै निज दक्षता ।
आत्मसन्तोष हो मुख्य, जिन्दगी जिउने कला ॥२२॥
रुष्टता, दुष्टता, क्रान्ति, हिंसा होइन सर्वथा ।
अहिंसाव्रत हो स्तुत्य, जिन्दगी जिउने कला ॥२३॥
दैन्य, दानवता हैन, न हो सद्गुणवैरता ।
मुख्य मानवता नै हो, जिन्दगी जिउने कला ॥२४॥
लिखु गाउँपालिका-६, थानसिङ, नुवाकोट
२०७९ असार २५ गते शनिबार
सामाकोशी, काठमाडौँ ।
प्रतिक्रिया दिनुहोस्: