दशैँ दशा नहोस् भनी सधैँ पुकार गर्छु म
दशा बनेर आउँदा झसङ्ग हुन्छु डर्छु म ।
दशैँ पसेर खोरमा दशा बनेर दार्दछ
अबोध जन्तुको कठै अमूल्य प्राण हर्दछ ॥१।
अभावको चिसो चुलो बनेर आउने छ त्यो
म पुग्छु कन्दरा कुना भनेर आउने छ त्यो ।
बनेर पर्व झुल्कियोस् हुने छ गर्व त्यो पल
र ढाक्छ व्योम त्यो भने दसैँ हुने छ बादल ॥२।
किनेर वस्त्र ले यता भनी कता अराउनु
दशैँ रहेछ बाध्यता छ नित्य गान गाउनु ।
दिँदैन सूचनाविनै सुटुक्क छाउला उसै
निधारको टिको बनी अवश्य आउला दशैँं ॥३।
जुवा र तासमा भुली दशैँ यता रमाउला
छ हार हातमा भने जितोस् र के गुमाउला ।
दशैं पुगेर द्वारमा सिँगार्छ स्वप्नको घर
मनुष्य स्वप्नमा डुबी हुनेछ रम्न तत्पर ॥४।
निको बनून् सबै सबै न घाउ चोट हुन् कतै
खराब भावना हटून् सुभाव हुन् जताततै ।
समस्त मस्त हुन् मिली मनाउँदा पियार होस्
दशा नहोस् बडादशैँ दशैँ बनी सवार होस् ॥५।
छन्द : पञ्चचामरे ।
लिखु–६, थानसिङ, नुवाकोट।


प्रतिक्रिया दिनुहोस्: