कविता

पिर

१७ आश्विन २०८२
कालिका त्रिपाठी पन्त

बाध्यता पनि छ रहर पनि छ
नमानौं त दशैं कहर पनि छ ।
अरू जस्तै धुमधाम मान्न ऋण गर्नुपर्छ
आफ्नै औकातको मानौं आँसु झार्नुपर्छ ।

तलबमा पेस्की थप्दा नि पुग्दैन के गर्नु ?
नवदुर्गाको नाम जप्दा नि पुग्दैन के गर्नु ?
छोरालाई एक सेट छोरीलाई एक सेट किन्दा
श्रीमती र मलाई आधा आधा सेट किन्दा ।

महङ्गीको बजारले लुट्छ मेरो कमाइ
संस्कार भन्छ मानौं दशैं रमाइ रमाइ !
खसी ल्याउँ कि कुखुरा दोधार छ मन
भेँडा र च्याङ्ग्रा किन्न त पुग्दैन धन ।

आमा बा को नि चित्त बुझाउनै पर्‍यो हजुर
आफन्तको नि मन रिझाउनै पर्‍यो हजुर !
टीकाटालोमा कति छुट्याउँ खै ! कताबाट ल्याऊँ
जमिनदारलाई मागौँ कि ! साहुको घरमा जाऊँ !

अन्योल छ बाटो स्पष्ट खोपिएको छैन
सबैथोक छ पैसाको बोट रोपिएको छैन ।
घरवासको नाममा एक आना एक धुर मात्र हो
निरासाको जिन्दगी त यहाँ मजदुरको मात्र हो ।

आधापेट खाना, आधारात निद्रा, फाटेको कछाड
मरेर गर्‍यो साहुको काम सँधै तँछाड मछाड ।
उहीँ साहु भरी, मजदुर सदाको रित्तोे र गरिब छ
चाडबाड पनि नआए हुन्थ्यो मनमा पिर भरी छ ।

जमरा मात्रै लागाउँ कि क्या हो भैराछ यसपालि
निधारैभरि लगाउँछु टीका राख्दिन कहीँ खाली ।
अरूले लाएको खाएको हेरे मन वशमा हुँदैन
हेरेर घाँटी निल्छु म हाड अनि मन रुँदैन !

बनेपा, काभ्रे। 

प्रतिक्रिया दिनुहोस्: