दशैँको बेलामा गगन तिर छैनन् घनघटा
शरद्ले ल्याएको कुसुमित अहा सुन्दर छटा।
हराए यो बेला हपहप हुने उष्ण दिन ती
चिसो तातोको मत्थर मधुरता रम्य धरती ॥१॥
न बाढीको चिन्ता न त छ अहिले कष्ट जनमा
सबैका देखिन्छन् वदन हँसिला हर्ष मनमा ।
झुलेका छन् बाला लहलह झुकाई शिर तल ।
चली हल्का हावा छुनुमुनु गरेका हर–पल॥२॥
बने सङ्ला खोला तल तल बगेका सललल
नदी,छाँगा रच्छन् मुदित लय मीठा कलकल।
सिँगारे नारीले घर पनि दशैँमा टलटली
कमेरोले पोते पछि त दुलहीझैँ झलझली॥३॥
हजारी,गुर्धौली अनि मखमली आँगनभरि।
चलाएका बास्ना मगमग हुने अत्तर सरि।
कतै लिङ्गे,पिर्के पिङ चहचहै रौनक छरी ।
कतै दोहोरी छन् घिनघिन घुरे मादल खरी॥४॥
फिरेका मुग्लानी सुखद सपना सञ्चित गरी
रमाई आफन्तीसित हृदय साट्छन् गह भरि।
दशैँ नेपालीको मिलन पल हो पर्व रसिलो
कुनै दुःखी हुन्नन् तन मन दुवै हुन्छ हँसिलो॥५॥
चिची पापा खान्छन् यस दिन नयाँ पैह्रन धरी
बडा टीका दिन्छन् शुभ,विजयका आसिकभरि।
गरी दुर्गा पूजा घर–घर हुने गर्छ भजन
पिता–माता आफ्ना गुरु–चरणको हुन्छ नमन॥६॥
छन्द : शिखरिणी।
टोखा–१०, गोँगबुँ, काठमाडौँ।


प्रतिक्रिया दिनुहोस्: