शहीद सन्तानका लागि काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले गर्यो छात्रवृत्ति घोषणा

२४ आश्विन २०८२

काठमाडौँ, २०८२ असोज २३ गते बिहीबार। टोखा-१०, गोँगबुँ, बानियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि बलिदानी दिएका जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ।

विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर शहीदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो।

विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले विद्यालयको सामाजिक उत्तरदायित्व र शहीदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको बताउनुभयो । शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने शहीदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो, अध्यक्ष पाण्डेले भन्नुभयो।

विद्यालयले शहीद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विद्यालयले शहीद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्: