कविता

रमाइलो भाइटीका

३ कार्तिक २०८२
रन्जुश्री पराजुली

पञ्चकको पाँचै दिन धेरै रमाईलो हुन्छ
काग, कुकुर, गौमाता सबको पुजा हुन्छ
दिदीबैनी दाजुभाइ खुसी हुन्छन् त्यो बेला
रमाउदै कुरा गर्दछन् भाइटीका कुन बेला ?

तेरो मेरो भन्ने सबै त्यागी खेल्दछन् रमाई
साटासाट गर्छन् आफ्ना सौगात समाई
दिदीबैनी बटुलेर फूल ल्याई थुपार्छन्
सयपत्री, मखमली माला राम्रो गाँस्दछन् ।

ठूलोदाइ ठूलीदिदी दियो राख्दछन् आँगन
लक्ष्मीपूजा गर्ने दिन भैलिनी आउँछिन् माँगन
साँझपख आउँदछन् मादल ठोक्दै, गाउँदै
भैली गीत नाना थरी गाउँदै नाँच्छन् आँगन्मा ।

खुसी हुँदै भान्छाभित्र आमा सेल हाल्दछिन्
पैलो सेल लक्ष्मीलाई प्रसाद् भनी राख्दछिन्
मीठोचोखो घर्‌मा पाके द्यौतालाई छुट्याउँनु छ
हात जोरी ध्यान गरी आशिस् थाप्नु पर्दछ ।

भाइटीका आमा मामा दाइदीदी बीचमा
सानोभाइ टीका थाप्न बस्दछ दाजु काखमा
सानीबैनी रमाउँदै लाइदिन्छिन् टीका निधार
सेलपुरी, फलफूल किस्तीमा छ मसला ।
बाँसबारी, काठमाडौं
हाल : अमेरिका। 

प्रतिक्रिया दिनुहोस्: