कविता

परिचय

२८ फाल्गुन २०८२
डा. सत्यराज थपलिया

वरतिर मेची परतिर काली ।
त्यसबिच बस्ने म हुँ नयपाली ॥१॥
निज धरती यी सतत उचाली ।
शिरबिच राख्ने म हुँ नयपाली ॥२॥
हृदयतिरैको कलुष पखाली ।
सुललित पार्ने म हुँ नयपाली ॥३॥
दिलबिच राखी हरि वनमाली ।
प्रमुदित बन्ने म हुँ नयपाली ॥४॥
भवन छ मेरो धवल हिमाली ।
विमल विचारी म हुँ नयपाली ॥५॥
प्रतिदिन आफ्नै श्रमचरु हाली ।
परिजन पाल्ने म हुँ नयपाली ॥६॥
छलबल गर्दै न लिनु छ ताली ।
हृदयविहारी म हुँ नयपाली ॥७॥
न त धनहारी न त ठग जाली ।
परहितकारी म हुँ नयपाली ॥८॥
प्रकुपित बन्दै नदिनु छ गाली ।
बरु व्यवहारी म हुँ नयपाली ॥९॥
नित श्रम गर्ने करपद चाली ।
अतिशय सोझो म हुँ नयपाली ॥१०॥
उदर छ खाली फगत कपाली ।
तर बलशाली म हुँ नयपाली ॥११॥
हुन गुणशाली अवगुण फाली ।
पशुपति पुज्ने म हुँ नयपाली ॥१२॥
छन्द : आशिवदना/२०८२।०७।२५ ।
सामाकोशी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: