मलिन अनुहार….दुवै आँखाबाट एकलहर आँसु झरेका ! टोलाएर सोचमग्न…पढाउँदा पढाउँदै सरिता मिसको नजर त्यही मुहारमा ठोकिन्छ । अगाडिबाटै के भयो रोमी तिमिलाई ? यताउता हेर्दै…नाई ! केही भएको छैन म्याम । पछाडि फर्किएर आँसु पुछ्दै । कक्षाका सबै विद्यार्थीहरू उनी भएतिरै हेर्छन् ! ए…..सबैजना यता फर्किनोस् । अँ…..वैदेशिक रोजगारीमा जानू अघि आफू जान लागेको देशको भाषा सिक्नुपर्छ, कामसम्बन्धी सीप सिक्ने र भरपर्दो म्यानपावर कम्पनिबाट जानुपर्छ । नत्र अलपत्र परिन्छ अनि ज्यानैसमेत जानसक्छ । फेरि उनको आँखा रोमीकोमै पुग्छ । यो पटक त उनी सुँक्क सुँक्क गर्दै दुवै आँखाबाट झरेका आँसु पुछिरहिकी थिइन् । उनमा एकप्रकारको छट्पटी भइरहेको थियो । कहिले दायाँ त कहिले बायाँ हेर्दै थिइन् । पक्कै रोमीलाई केही समस्या आइपरेको छ । सरिता मिस उनको नजिकै जानुहुन्छ र सोध्नुहुन्छ, के भयो रोमी तिमिलाई ? किन रोएकी यसरी ? आँसु पुछिदिनुहुन्छ । के भयो भन त ! यति राम्रो पढ्ने मान्छे आज पढाइमा ध्यानै गएको छैन !
म्याम मम्मीको याद आयो ! ‘मम्मीको याद आयो…..’ किन र तिम्रो मम्मी हुनुहुन्न ? अँ…. हुनुहुन्न म्याम ! ‘के भएको त ?’ बित्नुभएको म्याम ! बित्नुभएको ! कसरी…..के भएर ? अरू बच्चाहरु पनि आँखाभरि आँसु पार्छन् । म्याम ! ‘मम्मी कुवेत जानुभएको थियो, एक महिना नबित्दै उहाँको लास आयो ।’ हो र ! म्याम चकित पर्नुभयो । के भएर बित्नुभएको एक्सिडेन्ट् हो ? खै म्याम मम्मिको लास चिरेर सिलाएको थियो रे ! भित्री अङ्ग केही पनि थिएन रे ! रुँदै भन्न थालिन् .. बाबाले नजाऊ भनेर धेरै सम्झाउनु भएको थियो, मान्नुभएन । ‘म कमाएर पठाउँछु छोराछोरी लाई राम्रो स्कुलमा पढाउनु । भोलिपर्सि यिनीहरूलाई ठूलो मान्छे बनाउनुपर्छ । नत्र हामीले जस्तै दुःख पाउँछन्’ भन्दै हाम्रो भविष्य खोज्न जानुभएको मम्मी उतै अस्ताउनुभयो । उनी ह्वाँ ह्वाँ रुन थाल्छिन । नरोउ नरोऊ जे हुनुभैहाल्यो ।
हामी छौं नि । घरमा को को हुनुहुन्छ त ? घरमा बाबा, हजुर आमा…..। म र भाइचैं धुलिखेलको बालगृहमा बस्छौँ । ठिक छ यो संस्था राम्रो छ । यहाँ बालबालिकाले घरको जस्तै वातावरणमा हुर्कन पाउँछन् । राम्ररी पढ….., असल मान्छे बन….. । केही अप्ठ्यारो परे हामीलाई भन हामी पनि सक्दो सहयोग गर्छौं है । अनि टाउकोमा सुम्सुम्याउनुहुन्छ र छातीमा टाँस्नुहुन्छ । तर म्याम अब मैले मेरो मम्मीलाई कहिल्यै भेट्न पाउँदिन है ! सबैजना रुन थाल्छन् । वातावरण एकतमासको हुन्छ । न म्यामले रोमीलाई छोड्नुहुन्छ न रोमीले म्यामलाई !
बनेपा, काभ्रे।


प्रतिक्रिया दिनुहोस्: