यसपालि अर्थात् यही २०८२ साल मङ्सिर ४ गते हामी केही साहित्यकारहरू नुवाकोटको लिखु गाउँपालिकाको थानसिङमा रहेको ज्योतिकुञ्ज एकेडेमीमा गएर संसाकको नियमित कार्यक्रम अन्तर्गत ‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’ गर्ने काम गर्यौँ । कार्यक्रममा काठमाडौंबाट हामीहरू डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामोदर पुडासैनी किशोर, कवि/गीतकार प्रेम राई परीक्षित, साहित्यकार/पत्रकार उमेश पाण्डे, कवि/शिक्षक दिनेश पाण्डे, साहित्यकारहरू तारा के.सी., अन्जना पौडेल खनाल र पार्वति पुडासैनी सहभागी भएका थियौँ ।
ज्योतिकुञ्जको यसदिनलाई सम्झदा आजभन्दा ठीक एकवर्षअघिको दिनलाई सम्झनुपर्ने हुन्छ । २०८१ सालको मङ्सिर पहिलो हप्ता ‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’ कार्यक्रम अन्तर्गतको नियमित स्तम्भको लागि डा.दामोदर पुडासैनी किशोर, कवि तारा के.सी., कवि पार्वती पुडासैनी र म उमशे पाण्डे ज्योतिकुञ्ज एकेडेमी पुगेका थियौँ । त्यसको केही दिनअगाडि मात्र मैले प्रिन्सिपल रविन्द्र डंगोल सरलाई फोन गरेर ‘सर ! हजुरको स्कुलमा विद्यार्थीहरूसँगको छोटो कुराकानीको लागि हामी आउँदै छौँ, हुन्छ नि ?’ भनेर सोधेको थिएँ । रविन्द्र सरले ‘हुन्छ, भैहाल्छ नि भन्नुभयो ।’ हामी चार जना काठमाडौँबाट गयौँ । त्यतिबेला हामीले विद्यार्थीहरूसँग ‘कुराकानी र अतिथि सम्पादक’ को दुई विषयमा कुराकानी गरेका थियौँ । प्रिन्सिल सरसँग त्यति कुराकानी र उठबस भएन । सामान्य औपचारिक शिष्टाचार र भेटघाटपछि सर मलाई बाहिर काम छ भनेर स्कुलबाट निस्कनुभयो । हामी विद्याथीहरूसँगको भेटघाट, कुराकानी र छलफल गरेर चिया, खाजा खाएर केही बेरको बसाइपछि स्कुलबाट निस्केका थियौँ ।
यसपालि अलि विस्तृतरूपमा गर्ने र एकजना स्रष्टालाई सम्मान पनि गर्ने भन्ने बारेमा प्रिन्सिपल रविन्द्र सर र हामीबीच छलफल भएको थियो । मङ्सिरको पहिलो हप्ता रविन्द्रजी र मैले गोँगबुँमा भेटेर यस विषयमा कुराकानी गरेका थियौँ । उहाँले म स्कुलको कार्यक्रमहरू हेरेर/मिलाएर फोन गर्छु भनेर हामी छुट्टिएका थियौँ । त्यसै अनुसार प्रिन्सिफल रविन्द्रजीले मङ्सिरको अन्तिममा मलाई फोन गरेर ‘स्कुलको निर्धारित कार्यक्रमहरूले गर्दा यो कार्यक्रम अलि ढिला हुनपुग्यो, अब पौष ४ गतेलाई कार्यक्रम गरौँ’, भन्नुभयो । त्यसैमा मैले पनि ‘हुन्छ सर म तयारी गर्छु’ भनेर फोन राखेँ । म तयारी लागेँ ।
मैले भोलिपल्टै शैलेन्दु सर, दामोदर सर, प्रेम सर, दिनेश गुरु, तारा बैनी, अन्जना म्याम र पार्वती म्यामलाई फोन गरेर जाने निधो गरेँ । जाने सवारी साधनको लागि पोहोर साल गएकै ईभी भ्यानको भाइ जयप्रकाशलाई फोन गरेँ । उनले ‘हुन्छ सर, गएसालकै भाडामा लैजान्छु, सधैं मलाई नै भन्नुहुन्छ, के धेरै भन्नु ?’ भनेर ५ हजारमा जाने–आउने पक्का गरे । मङ्सिरको अन्तिम दिन मैले प्रिन्सिपल रविन्द्रजीलाई यी सबै कुराको जानकारी गराएँ । सरले हुन्छ, भन्नुभयो । उहाँले स्रष्टा सम्मानको कुरा पनि थियो नि खै त ? भन्नुभयो । यसपालि सम्मानको कार्यक्रम गर्न नभ्याइएला जस्तो भयो, त्यसलाई अर्कोपल्ट गरौँ हुन्न सर भने । रविन्द्रजीले हुन्छ, भनेर जवाफ दिनुभयो । यसरी यो कार्यक्रम निर्धारण र निश्चित गरियो ।
पौष ४ गते बिहान हामी सामाकोशीचोकमा जम्मा भयौँ । त्यहाँबाट हिँड्दा साढेआठ बज्नै लागेको थियो । टोखाको झोरमा पुगेर साहित्यकार हरिकृष्ण (एच्के) धितालको आतिथ्यमा चिया खायौँ । करिब आधाघण्टाको बसाइपछि हामी नुवाकोटतर्फ लाग्यौँ । थानापतिको शीतलपाटीमा पुगेर बिनोद, मेनुका र विपना पाण्डेको आतिथ्यमा दूध–खाजा खायौँ । केहीबेर फोटो खिच्ने, आराम गर्ने काम भयो । त्यहाँबाट हिँडेर थानसिङ पुगेर होटेल हिमचुलीमा खाना खाँदा साढेएघार जति बजेको थियो । हामीहरू आइपुगेको थाहा पाएर प्रिन्सिपल रविन्द्रजी होटेलमै आइपुग्नु भयो । खाना खाएर हामी कार्यक्रमको लागि स्कुलतिर लाग्यौँ ।
स्कुल पुगेर छिटै कार्यक्रम सुरु गर्यौँ । कार्यक्रममा डा.दामोदर पुडासैनी, प्रेम राई परीक्षित, तारा केसी र अञ्जना पौडेलसँग साहित्य र जीवनका सम्बन्धमा विद्यार्थीहरूले प्रश्न र कुराकानी गरेका थिए । त्यस्तै डा.शैलेन्दुप्रकाश नेपाल, उमेश पाण्डे र पार्वती पुडासैनीले साहित्यका विविध विषयमा छलफल गर्नुभएको थियो ।
दोस्रो चरणमा स्कुल अगाडि रहेको मञ्चमा हामी साहित्यकारहरू, विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल, शिक्षक–शिक्षिका र विद्यार्थी भाइबहिनीहरू माझ साहित्यिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा विद्यार्थीहरू दिपेश पाठक, सुप्रिम पाठक, रेस्मा सिलवाल, कुसुम बस्यालले कविता वाचन गरेका थिए । कवि पार्वती पुडासैनी, कवि तारा के.सी., अन्जना खनाल र दिनेश पाण्डेले पनि आआफ्ना रचना सुनाउनुभएको थियो । डा.दामोदर पुडासैनी, डा.शैलेन्द्रुप्रकाश नेपाल र प्रेम राई परीक्षितले विद्यार्थी र साहित्यकार बीचमा निरन्तर अन्तरक्रिया हुनु पर्ने कुरा बताउनुभयो । विद्यालयका प्रिन्सिपल रविन्द्रले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने कुरा बताउनुभएको थियो । शिक्षक शिवराम पुडासैनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । संसाक मासिकका सम्पादक/प्रकाशक उमेश पाण्डेले सबै कार्यक्रमको संयोजन गर्नुभएको थियो ।
दिउँसो ३ बजेको थियो होला कार्यक्रम सकियो । प्रिन्सिपल सरको कार्यकक्षमा गएर एकछिन बस्यौँ । गएर क्यान्टीनमा खाजा खायौँ । ईभीको भाइलाई फोन गर्यौँ र स्कुल परिवारसँग बिदा भएर ज्योतिकुञ्जबाट निस्कियौँ । छहरेबजार, जनज्ञान हुँदै शीतलपाटीमा आइपुगेर एकछिन बस्यौँ बिनोद सरको घरमा । त्यहाँ विपनाले बनाएको चिया खायौँ । मेनुकाले हामी सबैलाई एकएक मुठा साग कोसेली दिनुभयो । साँझ झमक्कै परिसकेको थियो । चिया खाइसक्यौँ । सागको कोसेली काखीमा च्याप्यौँ र त्यहाँबाट हतार–हतार लाग्यौँ काठमाडौँ । साँझ शीतलपाटी, काफलडाँडाबाट काठमाडौं आइपुग्दा हामीलाई सवाघण्टा जति समय लागेको थियो । काठमाडौंमा आएर टोखाको ओरालो झरेपछि ठाउँ ठाउँमा साथीहरूलाई छोड्दै छोड्दै गोँगबुँ, गणेशथान आएर ओर्लंदा ७ बजेको थियो । अरू के के मनमा सोच्दै घर जानुभयो थाहा भएन । तर म भने यही ज्योतिकुञ्ज एकेडेमी विशेष अङ्क निकाल्ने योजना मनमा बुन्दै बुन्दै घरतिर लागेँ ।


प्रतिक्रिया दिनुहोस्: