साहित्यका माध्यमबाट नै मैले पहिचान, मान–सम्मान र इज्जत पाएको छु ।
गङ्गा कर्माचार्य पौडेल
बहुआयामिक व्यक्तित्व गङ्गा कर्माचार्य पौडेल नेपाली भाषा साहित्यमा स्थापित स्रष्टा हुनुहुन्छ । उहाँले साहित्य लेखन, समाज सेवा, साहित्यिक पत्रकारितामा पनि उत्तिकै योगदान पुर््याउँदै आएको देखिन्छ । विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि राख्ने गङ्गाको पहिलो रचना २०३२ सालमा विवेक शीर्षकको कविता ’देशान्तर’ साप्ताहिकमा प्रकाशित भएको थियो । त्यसपछि भने उहाँले औपचारिक रूपमै नेपाली भाषा, साहित्यमा प्रवेश गरी २०३३ सालमा ‘गङ्गाका केही छालहरू’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित गर्नुभएको थियो । विवाह पश्चात् तीन दशक लामो समय साहित्यबाट टाढिए पनि ३०६३ सालमा ‘आँधी खोलाको सम्झना’ कविता सङ्ग्रह लिएर पुनः साहित्यमा फर्किएपछि उहाँले गद्यपद्य दुवै विधामा कलम चलाई बाल, किशोर, वयस्क सबै खाले उमेरका पाठकका लागि साहित्य रचना गरी पुस्तकहरूसमेत प्रकाशित गरिरहनुभएको छ । उहाँका बाल र किशोर साहित्यिक कृतिले पुरस्कारसमेत प्राप्त गरिरहेका छन् । हालसम्म उहाँका विभिन्न विधाका ३९ वटा पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । अन्तर्राष्ट्रिय नारीवर्ष १९७५ (वि.सं.२०३२) को अवसरमा पिएन कलेज पोखराबाट स्वर्णपदक प्राप्त गरेर पुरस्कारको सुरुवात गर्नुभएको कवि गङ्गा पौडेलले वि.सं.२०८० मा पारामाउण्ट एकेडेमी, काठमाडौंले गरेको अभिनन्दनसम्म आइपुग्दा ५० बढी सम्मान, अभिनन्दन र पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
यिनै बहुप्रतिभाशाली स्रष्टा तथा विद्वान व्यक्तित्व कवि गङ्गा कर्माचार्य पौडेलसँग जीवन र जगत् सम्बन्धमा पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल, टोखा–१, झोर, काठमाडौंका भाइबहिनीहरू सारा बिडारी (कक्षा : ८) र रिसभ लामिछाने (कक्षा : ९) ले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
१. नाम ?
उत्तर : गङ्गा कर्माचार्य पौडेल ।
२. जन्म ?
उत्तर : मेरो जन्म विक्रम संवत् २०११ साल भदौ २० गते भएको हो ।
३. स्थान ? जन्मदाको साइतको प्रभाव जिन्दगीमा कस्तो परेको छ जस्तो लाग्छ ?
उत्तर : म स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.१ मा जन्मेको हुँ । मलाई म जन्मदाको साइत मध्यम छ जस्तो लाग्छ ।
४. हालको बसाइ ?
उत्तर : हाल म बूढानीलकण्ठ वडा नं. १०, शिवपुरीचोेक कपनमा बस्दछु ।
५. आमा/बुबा ? कस्तो रहयो उहाँहरूको हेरचाह, पालनपोषण ?
उत्तर : आमा कृष्णादेवी कर्माचार्य र बुबा पूर्णलाल कर्माचार्य हो । मलाई उहाँहरूले धेरै लाडप्यारमा हुर्काउनु भयो ।
६. जहानको परिचय ? कस्तो रहयो उहाँको साथ सहयोग ?
उत्तर : मेरो श्रीमान् हेम पौडेल हो । उहाँ पहिलो चरा विज्ञ हो । त्यसपछि साहित्यकार र चित्रकार हो । उहाँको साथ सहयोगले नै म आज यहाँसम्म आइपुगेको छु ।
७. छोरा/छोरी कति के गर्दैछन् उनीहरू ?
उत्तर : मेरा छोरी एक र छोरा (जुम्ल्याहा) छन् । छोरी व्यापार–व्यवसाय गर्छिन् र छोरा बैंकर्स हुन् ।
८. शिक्षा ?
उत्तर : मैले स्नातक उत्तीर्ण गरेको छु ।
९. पेशा ?
उत्तर : म पैला एउटा संस्थामा जागिरे थिएँ । अहिले साहित्यको लेख, पढमा लागेको छु ।
१०. रुचि ?
उत्तर : मेरो रुचिमा साहित्य सिर्जना गर्ने, साहित्यिक कृतिहरू अध्ययन गर्ने, विचार विमर्श गर्ने र नयाँ नयाँ ठाउँको भ्रमण गर्ने र नयाँ मान्छेहरूसँग भेटघाट गर्ने छ ।
११. वाल्यकालको स्वभाव कस्तो थियो ? बाल्यकाल सुख, दुःख कसरी वित्यो ?
उत्तर : मेरो बाल्यकाल सुखपूर्वक नै बित्यो । मेरो बाल्यकालका स्वभाव निकै जिज्ञासु थियो ।
१२. युवा उमेरको सोच कस्तो रहयो ? युवा उमेरमा सुख दुःख, संघर्ष कतिको गर्नुपर्यो ?
उत्तर : युवा उमेरमा मेरो सोच पढाइमा बढी केन्द्रित रह्यो । सुख त सुखै थियो । तर पढाइको लागिचाहिँ केही संघर्ष गर्नुपरेको थियो । त्यो के त भन्दा एक्लै बस्नुपर्ने, पकाउने, खाने, पढ्ने चटारो आदि थियो ।
१३. वयस्क उमेरको व्यवहारमा के परिवर्तन आयो ?
उत्तर : त्यति बेलामा त आमूल परिवर्तन आयो नि । विवाहवारी भयो । घरपरिवार आदि भन्दैमा समय बित्यो । साहित्यिक गतिविधिमा रोक लगाउनुपर्यो ।
१४. अहिले के गर्दै हुनुहुन्छ ? दिनहरू कसरी वितेका छन् ?
उत्तर : अहिले मेरा दिनहरू साहित्यिक कृतिहरू लेख्ने र विभिन्न लेखकहरूका पुस्तकहरू अध्ययन गर्ने कार्यमा बितिरहेछन् ।

१५. साहित्यिक लेखन कहिलेदेखि शुरु गर्नुभयो ?
उत्तर : स्कुल पढ्दा म १४ वर्षको थिएँ, ६ कक्षामा पढ्थेँ । त्यतिबेलादेखि लेख्न थालिसकेको थिएँ ।
१६. पहिलो रचना के थियो ?
उत्तर : मेरो पहिलो रचना ‘विवेक’ शीर्षकको कविता थियो ।
१७. पहिलो कृति के थियो ?
उत्तर : मेरो पहिलो कृति ‘गङ्गाका केही छालहरू’ हो यो कृति वि.सं.२०३३ सालमा प्रकाशित भएको थियो ।
१८. लेखनका विषयहरू कसरी छनौट गर्नुहुन्छ ?
उत्तर : कुनै कुराले आफूलाई छोएपछि म त्यही विषयमा लेख्ने गर्छु ।
१९. तपाईको लेख्ने समय कुन हो ?
उत्तर : म प्राय बिहानको समयमा लेख्ने गर्छु ।
२०. लेखनलाई कस्ता कुराले सुन्दर बनाउँछ ?
उत्तर : सरल भाषा, सुन्दर शब्द र कलात्मकशैलीले लेखनलाई सुन्दर बनाउँछ भन्ने लाग्छ ।
२१. अहिले के लेख्दै हुनुहुन्छ ?
उत्तर : म अहिले निबन्ध लेख्दै छु । यो आत्मपरक निबन्ध हो ।
२२. साहित्य किन लेख्नु पर्छ ?
उत्तर : समाज रूपान्तरणका लागि साहित्य आवश्यक रहन्छ । त्यसकारणले साहित्य लेख्नुपर्छ ।
२३. साहित्यले व्यक्ति र समाजलाई दिने कुरा के हो ?
उत्तर : साहित्यले व्यक्तिलाई चेतना दिन्छ र समाजलाई रूपान्तरणको लागि दिशानिर्देश गर्दछ ।
२४. अबको साहित्यिक योजना के छ ?
उत्तर : मेरो अबको योजना लेख्दै गरेको निबन्ध कृतिलाई सकेर त्यसको प्रकाशन गर्ने हो ।
२५. आफ्नो आफैलाई बढी मन परेको कृति कुन हो ?
उत्तर : मेरा हरेक कृतिहरू मलाई मन पर्छ । तर त्यसमा पनि ‘को ठूलो’ बालकथा सङ्ग्रह जुन ब्रेल लिपिमा पनि प्रकाशित छ, त्यो मलाई अलिबढी मन पर्छ ।

२६. घरको काम कत्तिको गर्नुहुन्छ ?
उत्तर : म घरको काम गर्न रमाउँछु र म घरका सबै काम गर्छु ।
२७. जाँगर लाग्ने काम कुन हो ?
उत्तर : साथीभाइ, आफन्तजन बोलाउने, कुराकानी, गफ गर्न जाँगर लाग्छ ।
२८. कस्तो काम गर्न अल्छी लाग्दछ ?
उत्तर : मलाई खाना पकाउन केही अल्छी लाग्छ ।
२९. खाना के मीठो लाग्दछ ?
उत्तर : मलाई साधारण दाल, भात, तरकारी जे पनि मीठो लाग्दछ ।
३०. लाउन कस्तो मन पर्छ ? मनले चाहेजस्तो खान, लाउन नपाएको कुनै क्षण छ ?
उत्तर : नेपाली पहिरन मन पर्छ । खान लाउन नपाएको कुनै क्षण छैन ।
३१. घुम्न कस्तो ठाउँ मन पर्छ ? कतिको घुमफिर गर्नुहुन्छ ?
उत्तर : मलाई मन्दिर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू घुम्न मन पर्छ । म प्रायः घुमफिर गर्छु ।
३२. साथी-सङगीहरू कस्ता मन पर्छन् ? कतिको भेटघाट, सरसङ्गत गरिन्छ ?
उत्तर : साहित्यकार साथीहरू बढी मन पर्छ । म त्यस्ता साहित्यिक साथीहरूसँग निरन्तर भेटघाट र सम्पर्कमा रहन्छु ।
xxx
३३. सारमा मान्छेको जीवन के रहेछ ? जीवनप्रति सन्तोष के मा ?
उत्तर : सारमा मान्छेको जीवन घटनै घटनाको शृङ्खला रहेछ । साहित्य सिर्जना गर्न पाएकोमा सन्तोष छ ।
३४. यो जगत्लाई कसरी बुझ्नु भएको छ ?
उत्तर : यो जगत् आशा र भरोषाको केन्द्र हो । मायाले मान्छेलाई संसारमा हिँडाएको छ ।
३५, जन्म के रहेछ ?
उत्तर : जन्म सुख र दुःखको संगम हो ।
३६. मृत्यु के हो ?
उत्तर : मृत्यु साश्वत सत्य हो । अरू कुरा नभए पनि जन्मेपछि मृत्यु हुन्छ नै ।
३७. लक्ष्य कस्तो राख्नुपर्छ ?
उत्तर : मान्छेले ‘उडिछुनु चन्द्र एक’ भन्ने लक्ष्य राख्नुपर्छ ।
३८. प्रेम के हो ? असल प्रेम कसरी गर्नुपर्दछ ?
उत्तर : प्रेम बाँच्ने आधार हो । असल प्रेम स्वार्थ नराखी गर्नुपर्छ ।
३९. दुःख के रहेछ ? दुःखबाट कसरी छुटकारा पाउँन सकिन्छ ?
उत्तर : दुःख जीवनमा आउने एउटा घटना हो । यसलाई अवसरको रूपमा लिनुपर्छ । दुःखबाट छुटकारा पाउन भने सकिन्न जस्तो लाग्छ ।
४०. सुख भनेको के हो ? जीवनमा कसरी सुख पाउँन सकिन्छ ?
उत्तर : सुख मनको शान्ति हो । सुख बाहिर खोजेर पाइन्न, आफैभित्र खोज्नुपर्छ ।
४१. हाँसोलाई कसरी बुझ्नुहुन्छ ? सुख दुःखमा कत्तिको हाँस्नुहुन्छ ?
उत्तर : हाँसो जीवनको आवश्य तत्त्व हो । हाँस्दा मन हलुङ्गो हुन्छ । प्रसन्न हुन्छ । म धेरै हाँस्छु ।
४२. खुशी के हो र खुशी कसरी प्राप्त हुन्छ ?
उत्तर : मनको प्रसन्नता खुशी हो । खुशी पाउन धेरै कष्ट र दुःख गर्नुपर्छ जस्तो लाग्दैन ।
४३. रुवाइलाई कसरी लिनुहुन्छ ? जीवनमा कत्तिको रुनु परेको छ ?
उत्तर : रुवाइ दुःख पखाल्ने माध्यम हो । जीवनमा रोएका घटनाहरू धेरै छन् ।
४४. विश्वास भनेको के हो ? कस्तालाई कसरी विश्वास गर्ने ?
उत्तर : आपसमा धोका नदिनु विश्वास हो । कसैप्रतिको भरोषा पनि हो । व्यवहार हेरेर उसको व्यवहार अनुसार विश्वास गनुपर्र्छ ।
४५. डर के हो ? के कुरामा बढी डर लाग्छ ?
उत्तर : डर मनको कमजोरी हो । आफूबाट कुनै गल्ती, कमजोरी हुन्छ कि भनेर बढी डराउँछु ।
४६. समय के हो ? समयलाई कसरी बुझ्ने ?
उत्तर : समय जीवनको सबैथोक हो । समय बगी जाने खोलाजस्तै हो । यसलाई बाँध बाँधेर घट्ट घुमाए बिजुली निस्कन्छ । छोडिदिए त्यसै खेर जान्छ । समय पनि त्यस्तै हो । यसको निरन्तर सदुपयोग गर्न जान्नुपर्छ । यसलाई खेर फाल्नुहुन्न ।
४७. सम्पति के हो ? जीवनमा धन सम्पत्ति किन चाहिन्छ ?
उत्तर : मेरो विचारमा सम्पत्ति जीवन चलाउने साधन हो । जीवनलाई सुखी र खुशी बनाउन सम्पत्ति चाहिन्छ ।
४८. तपाईको बलियो पक्ष के हो ?
उत्तर : मेरो बलियो पक्ष नैतिकता हो ।
४९. कमजोर पक्ष चाहिँ के हो ?
उत्तर : म छिटो आँतिन्छु । यो मेरो कमजोर पक्ष हो ।
५०. जीवनका गुनासाहरू के छन् ?
उत्तर : जीवन चलेकै छ । खासै कुनै गुनासाहरू छैनन् ।
५१. समग्रमा आजसम्म तपाईको जीवन कस्तो रहयो ?
उत्तर : सामान्य नागरिकले जिउने जीवन जस्तो छ, मेरो पनि त्यस्तै रहेको छ ।
५२. आफ्नै बारे भन्नुपर्दा, राम्रो/नराम्रो, असल/खराब, सहयोगी/असहयोगी कस्तो हुनुहुन्छ ?
उत्तर : मैले मेरै बारेमा भन्नुपर्दा म सामान्य सहयोगी छु र लाग्छ घमण्डी छैन ।
xxx
५३. गीत के हो ? गाउँन आउँछ ?
उत्तर : गीत जीवनलाई लयबद्ध गर्ने, गतिशील बनाउने र आनन्द दिने माध्यम हो । मलाई धेरथोर गाउन पनि आउँछ ।
५४. सङ्गीत के हो ? बाजाहरू बजाउँन आउँछ ?
उत्तर : सङ्गीतले गीतलाई जीवन्त बनाउँछ । मलाई माउथ हारमोनियम राम्रोसँग बजाउन आउँथ्यो ।
५५, नृत्य के हो ? नाच्न कतिको आउँछ ?
उत्तर : नृत्य शरीरको हाउभाउ र गीतको अभिनय हो । मलाई नाच्न आउँदैन ।
५६. जीवनमा खेलकुद, व्यायाम किन आवश्यक छ ?
उत्तर : स्वस्थ शरीरको लागि खेलकुद र व्यायाम आवश्यक छ ।
५७. जात्रामात्रा, मेलापर्व कतिको जानु हुन्छ ? के यी कुरा जीवनमा आवश्यक छन् ?
उत्तर : यी कुरा जीवनमा आवश्यक छन् तर हुलमूल र भीडभाड हुनेभएकोले म जान्न ।
५८. धर्म के हो ? व्रत किन बस्ने ? पूजा किन गर्ने ? व्रत बस्ने, पूजाआजा कत्तिको गर्नुहुन्छ ?
उत्तर : धर्म अदृश्य शक्ति हो । व्रत मनको शान्ति र स्वस्थ्य शरीरको लागि बस्ने हो । पूजा आनन्द प्राप्तिको लागि गर्ने हो । सामान्य रूपमा दैनिक आवश्यकता अनुसार व्रत बस्ने, पूजाआजा गर्ने गर्छु ।
xxx
५९. समाजप्रति के कुरामा खुशी र के कुरामा दुःखी ?
उत्तर : मलाई समाजको सहयोगीभावना, सकारात्मकसोच, एकआपसको माया ममता देख्दा खुशी लाग्छ तर नकारात्म टिकाटिप्पणी, एकअर्काको आलोचना र खुट्टा तान्ने प्रवृत्ति देख्दा दुःख लाग्छ ।
६०. देशको राजनीतिप्रति के कुरामा प्रशंसा र के कुरामा घृणा छ ?
उत्तर : देशमा विकास भएको देख्दा प्रशंसा गर्न मन लाग्छ तर भ्रष्टाचार, नादावाद र चाकडीले समाज गाँजेको देख्दा घृणा लागेर आउँछ ।
६१. जीवनमा राम्रो काम के गरेँ जस्तो लाग्छ ?
उत्तर : साहित्यको निरन्तरता पटकपटक छुटेर तीन दशकसम्म पर रहे पनि त्यसलाई पुनः निरन्तरता दिनसकेकोमा त्यो राम्रो काम गरेँ जस्तो लाग्छ ।
६२. मैले यो काम नगर्नुपर्थ्यो, त्यो गरेँ, भन्ने कुनै काम छ ?
उत्तर : त्यस्तो काम कुनै छैन । सबै काम राम्रै गरेँ जस्तो लाग्छ ।
६३. समाजलाई के दिएँ जस्तो लाग्छ ?
उत्तर : मैले १४ वर्षको उमेरदेखि आज ७१ वर्षको उमेरसम्म निरन्तर ३९ वटा साहित्यिक कृतिहरूका माध्यमबाट समाजलाई राम्रा विचार, सकारात्मक सोच र असल मार्ग प्रदान गरेँ जस्तो लाग्छ ।
६४. समाजबाट मैले के पाएँ भन्ने ठान्नुहुन्छ ?
उत्तर : समाजबाट मैले पहिचान, मानसम्मान र इज्जत पाएँ । यो नै जीवनको ठूलो उपलब्धी हो ।
६५. जीवनले के कुरा गुमायो जस्तो लाग्छ ?
उत्तर : मलाई जीवनमा कुनै कुरा गुमाएको छु जस्तो लाग्दैन । जीवनबाट मैले धेरै कुरा पाएको छु ।
६६. आजसम्म जीवनलो कमाएको कुरा के हो ?
उत्तर : आजसम्म मैले जीवनमा कमाएको कुरा साथीभाइ खासगरी भाइबहिनीहरूको माया हो ।
६७. समाज कस्तो बन्नुपर्छ ? कुनै सुझाव/भनाइ छ ?
उत्तर : मलाई लाग्छ, समाज आपसी मायाप्रेम र सकारात्मक सोचले पूर्ण भएको हुनुपर्छ ।
६८. हामीले सोध्न छुटाएका तर भन्न बाँकी केही कुरा छन् कि ?
उत्तर : प्रायः धेरै कुरा आएका छन् । तर मलाई यसरी यस स्कुलमा आएर भाइबहिनीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने अवसर जुराएकोमा यस स्कुल, कुरा गर्ने भाइबहिनीहरू र संसाकप्रति धेरै धेरै आभारी छु । अब अर्को भेटमा गरौंला बाँकी रहेका अरू भलाकुसारी !

प्रस्तुति
पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल
टोखा-१, झोर, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: