गजल

गजल : आऊ

१७ चैत्र २०८२
रुपा रिसाल चालिसे

गजल : आऊ
रूपा रिसाल चालिसे

छल्छल छल्किने सागरको छाल बनेर आऊ
छम्छम छम्किने सङ्गीतको ताल बनेर आऊ ।

हेर्दैछु झलमल्ल उत्तरतिर हाँसिरहेको हिमाल
टल्टल टल्किने उही ज्योति पाल बनेर आऊ ।

बग्दैछन् उतै सहश्र पसिनाका धारा परदेशमा
श्रम समाउने युवाका हातमा भाल बनेर आऊ ।

चरा झैं उडिजाने आकाश माथि मनका तरङ्ग
एकाग्रता जमाउने लक्ष्यको जाल बनेर आऊ ।

परिश्रमी भाग्य सजाउनु समृद्धका अभियानमा
गुलाफ फुलाउने बिउबिजन माल बनेर आऊ ।

कलम र खुकुरीको तागत धेरै देखियो जगमा
उद्योग धन्दा चल्ने बौद्धिक खाल बनेर आऊ ।

माटोकै टीका असल निधारमा दशैंको आशीर्वाद
भविष्य कोर्ने विधाताको नयाँ चाल बनेर आऊ ।

आँधी हुरिले उडाउला आर्जेका चिटिक्क घर
भोकप्यास थामिदिने दरिलो थाल बनेर आऊ ।
धापासी, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: