डेलचन्द्र शर्माको ‘माटो र म’ कृतिको लोकार्पण

१५ बैशाख २०८३

२०८३ वैशाख ११, काठमाडौं। साहित्यकार डेलचन्द्र शर्माको ‘माटो र म’ कविता तथा निबन्ध कृतिको आज एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ।

साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबै साहित्यिक मनहरू प्रमुख आमन्त्रितका रूपमा रहेका थिए।

त्यसैगरी अन्य आमन्त्रित व्यक्तित्वहरूमा नरेन्द्रबहादुर श्रेष्ठ, प्रा.पुरुषोत्तम दाहाल, चन्द्रमणि गौतम, सूर्य कोइराला, सरु पोखरेल, विष्णु न्यौपाने, कृष्ण भुसाल तथा गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कवि डेलचन्द्र शर्मा हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। शर्माको यो पहिलो कृति हो। कार्यक्रममा कवि डेलचन्द्र शर्मालाई सम्मान पनि गरिएको थियोे।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि डेलचन्द्रलाई बधाई दिँदै उनले बाहिर बसेर पनि देशप्रति सकारात्मक सोच राख्न सकिंदोरहेछ भन्ने ज्वलन्त उदाहरण ‘माटो र म’ भएको बताए। साथै उनलेे कविता र निबन्ध छुट्टाछुट्टै कृति हुनुपर्नेमा एउटै बनाउँदा प्राविधिक समस्या पर्ने बताए।आगामी कृति ल्याउँदा प्रकाशन गृहसँग सम्बन्ध राख्न पनि उनलेे सुझाएका थिए।

लोकार्पित कृति ‘माटो र म’ माथि सरु पोखरेल तथा चन्द्रमणि गौतमले संक्षेपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कवितामा देश प्रेम, पारिवारिक सम्बन्ध र जनजीवनका कुराहरू रहेको बताए। कार्यक्रममा प्रा. पुरुषोत्तम दाहाल, विष्णु न्यौपाने तथा सूर्य कोइरालाले शुभकामना मन्तव्य राख्दै बधाई दिएका थिए।

कवि डेलचन्द्र शर्माले लेखकीय मन्तव्य राख्दै पुस्तक प्रकाशन र लोकार्पणका लागि सहयोग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गर्दै एउटा कविता वाचन गरेर सुनाएका थिए।

मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुषालले कवि डेलचन्द्र शर्मालाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबै साहित्यकार तथा साहित्यप्रेमीहरूलाई धन्यवाद दिएका थिए।

गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण तथा सञ्चालन सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: