‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’
स्वास्थ राम्रो छ भने मात्र संसार सुन्दर हुन्छ
पार्वती पुडासैनी
गोँगबुँ, नयाँ बसपार्क, काठमाडौं
साहित्यकार पार्वती पुडासैनीको जन्म माता कुश्मि ढकाल र पिता शशीधर ढकालबाट म्यानमार (बर्मा) मा भएको थियो । पुडासैनी सानो उमेरदेखि कथा, कविता, निबन्ध, हाइकु जस्ता विधामा कलम चलाउँदै आउनुभएको छ । भर्खरै प्रकाशित भएको उहाँको कविता सङ्ग्रह– ‘क्षेपारो समय अहिले बजारमा निकै चर्चामा रहेको छ ।
साहित्यकार पुडासैनी सानै उमेरदेखि मानव सेवामा अभिप्रेरित भएको कारण नर्सीङ जस्तो गरीमामय पेशामा आवद्ध हुनुभयो । जीवनका चौँतीस वर्ष देशका तराईदेखि पहाडका विभिन्न स्वास्थ संस्थाहरूमा कार्यरत रहनुभयो । वि.सं. २०७५ साल मंसिर एक गते नर्सिङ इन्चार्ज पदबाट राजिनामा दिएपछि साहित्यिक लेखन र समाज सेवामा पूर्णरूपमा समर्पित हुनुहुन्छ । उहाँले देशका पचपन्हभन्दा बढी जिल्लाहरूको भ्रमण गर्नुभएको छ । विदेशको हकमा अमेरिका, फ्रान्स, संयुक्त अरबइमिरेट्स, चिन, कतार, भारत, बङ्गलादेश, सिंगापुर, मलेसिया र म्यानमार जस्ता देशहरूको भ्रमण गर्नुभएको छ । विभिन्न पत्रपत्रिकामा, कथा, लघुकथा, कविता, हाइकु, मुक्तक, निबन्ध आदि प्रकाशित गर्दै आउनुभएको छ । उनका अरू कृतिहरू पनि प्रकाशनको क्रममा छन् ।
महिला साहित्यकारको सशक्त हस्ताक्षर तथा स्वास्थ्य सेवा र सामाजिक क्षेत्रको अभियन्ता पार्वती पुडासैनीको ‘म र मेरो जीवन’ को यस अङ्कलाई काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, टोखा–८, बानियाँटार, गोँगबुँ, काठमाडौंका भाइबहिनीहरू निस्कृति निशा पौडेल (कक्षा : ६), अभिनव कश्यप (कक्षा : ६) र शुभद्रा गुरुङ (कक्षा : ९) ले तयार पारेका हुन् । कुराकानीका आधारमा भाइबहिनीहरूले तयार पारेको पुडासैनीको जीवन, जगत् सम्बन्धी विचारलाई सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
जीवन : जीवन भनेको बाचेको प्रमाण, जन्मेदेखि मृत्युबीचको अवधि हो ।
जगत् : सारा संसार जहाँ पृथ्वी, तारा, आकाशलगायत छन्, त्यही सारा संसार हो जगत् ।
जन्म : संसारमा प्रवेश गर्ने ठूलो अवसर हो जन्म ।
मृत्यु : जीवनको अन्त्य हो मृत्यु ।
लक्ष्य : कुनै काम पूरा गर्ने चाहना हो लक्ष्य ।
प्रेम : एक र अर्को बीचको आकर्षण हो, जहाँ अर्कोप्रति समर्पण रहन्छ ।
दुःख : पीडाको अनुभूति हो दुःख ।
हासो : ख़ुशी व्यक्त गर्दाको अवस्था हो हाँसो ।
खुसी : चाहना पूरा गरेको अवस्थामा खुसी आउँछ ।
रुवाइ : दुःख र पीडाको अभिव्यक्ति नै रुवाइ हो ।
विश्वास : कसैको विगतको काम हेरेर ऊप्रति गर्ने भर नै विश्वास हो ।
डर : कुनै खराब घट्नाको आशंका हो । यो नकारात्मक हुन्छ ।
समय : संसार चलिरहने प्रक्रिया नै समय हो ।
सम्पति : जीवनयापन गर्नको लागि चाहिने वस्तु हो सम्पति ।
बलियो पक्ष : आफूले आँटेको राम्रो काममा डटेर लाग्ने कुरा नै मेरो बलियो पक्ष हो ।
कमजोर पक्ष : मेरो कमलो मन छ । स्यानो घटनाले पनि मलाई प्रभाव पार्छ ।
गुनासो : कसैप्रति पनि खासै गुनासो छैन ।
सुझाव : सबैले सबैको स्वास्थमा ध्यान दिऊन् । स्वास्थ छ भने मात्र सुन्दर हुन्छ संसार ।
आफ्नै बारेमा : यो जीवन पाएर म खुशी छु । जीवनका हरेक क्षण अरू खुशी पार्ने प्रयास गर्ने छु ।

प्रस्तुति
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, गोँगबुँ, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: