“निःशब्द शब्द” लोकार्पण

३० असार २०८३

ललितपुर, २०८३ असार २७ गते शनिबार । ज्योति साहित्य प्रतिष्ठानको २२७औँ सृङखलामा साहित्यकार श्रीराम पाण्डेद्वारा लिखित कवितासङग्रह ‘निःशब्द शब्द’ को एक विशेष समारोहबीच लोकार्पण सम्पन्न भयो।ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व र शिखर कवि शैलेन्द्र शाकारको प्रमुख आतिथ्य  तथा प्रा. डा. निर्मोही व्यास, ज्ञानुवाकर पौडेल, प्रा. डा. भरतकुमार भट्टराई, प्रा युयुत्सु आर डी शर्मा, नारायण तिवारी, दिनेश विक्रम थापा, कल्पना मरासिनीलगायतका साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा नि:शब्द शब्द कवितासङ्रग्रहको लोकार्पण गर्दै नेपाली कविताको समकालीन प्रवृत्ति, सिर्जनात्मक जिम्मेवारी र साहित्यको सामाजिक भूमिकाबारे चर्चा गर्नुभएको थियो। वक्ताहरूले ‘निःशब्द शब्द’ ले मानवीय संवेदना, जीवनका विविध अनुभूति, सामाजिक यथार्थ र समयका मौन पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको टिप्पणी गर्नुभयो।

कृतिको समीक्षा गर्दै शिखर कवि शैलेन्द्र शाकारले कविताले समाजको मौन आवाजलाई अभिव्यक्त गर्न सक्नुपर्ने धारणा राख्नुभयो। उहाँले श्रीराम पाण्डेको लेखनमा जीवनप्रतिको गहिरो दृष्टि, भाषिक सौन्दर्य र अनुभूतिको सघनता रहेको उल्लेख गर्नुभयो। त्यसैगरी प्रा. डा. निमोही व्यास, ज्ञानुवाकर पौडेल, प्रा. डा. भरतकुमार भट्टराई, विमल भौकाजी लगायतका वक्ताहरूले विभिन्न पक्षमाथि समीक्षा गर्दै कविताहरूले पाठकलाई सोच्न, महसुस गर्न र आत्मचिन्तन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले उक्त पुस्तक नेपाली साहित्यका समकालीन फाँटमा एउटा गहकिलो कृति भएको तथा श्रीराम पाण्डेको निरन्तर साहित्यिक साधनाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त कृतिहरूको अपेक्षा रहेको बताउनुभयो।

उक्त कृतिबाट युवा कविहरू योगाज राजन कविराज, सुनिता अधिकारी, रचिता दाहाल, बुद्धिमान महर्जनले कविता वाचन गरे।

लेखक श्रीराम पाण्डेले आफ्नो लेखकीय यात्राबारे चर्चा गर्दै कविता आफ्नो जीवनको अभिन्न अभिव्यक्ति भएको बताउनुभयो। उहाँले समाज, समय, मानवीय सम्बन्ध, पीडा, आशा र जीवनका अनुभवलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको उल्लेख गर्दै पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो।

श्रीराम पाण्डे यसअघि पनि कविता, निबन्ध, कथा तथा अन्य विधाका ५ कृतिहरू प्रकाशित गरिसक्नुभएका सक्रिय साहित्यकार हुनुहुन्छ। उहाँका कृतिहरूले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सफल भएको सहभागीहरूले बताएका थिए। ‘निःशब्द शब्द’ कविता संग्रहको प्रकाशन मधुकुमार थापाले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्: