काठमाडौं, २०८३ असार २८ गते। साहित्यकार अञ्जना पौडेल खनालकी आमा ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी वर्ष’ पुस्तक भव्य समारोहकाबीच लोकार्पण भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दु प्रकाश नेपालले २१३ औं भानु जयन्तीको अवसरमा सो कीर्तिको लोकार्पण गर्नुभएको थियो। साथै विभिन्न छ संस्थाहरूबाट स्रष्टा मेनकालाई दोसल्ला र अभिनन्दनपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठान, शताब्दी साहित्य प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान र एसिया प्यासिफिक स्कुलको सहकार्यमा भानुजयन्ती कार्यक्रम रोचक प्रस्तुतीहरूसहित आयोजना गरिएको हो । लमजुङको ऐतिहासिक थलो दुराडाँडामा स्थायी बसोबास भएकी पौडेलले ८४ वर्षसम्म भोगेका भोगाइलाई समेटिएर तयार पारेको उक्त पुस्तक भानुजयन्तीका अवसरमा विमोचन गरिएको हो ।
वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपालले नेपाली भाषालाई जनसाधारणको पहुँचमा पुर्याउने तथा साहित्यिक अभिव्यक्तिलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको बताउनुभयो । प्रा. डा. नेपालले भानुभक्तले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । भानुभक्तका कृतिले नेपाली साहित्यको जग बलियो बनाउनुका साथै पछिल्ला पुस्ताका स्रष्टालाई सिर्जनशील बन्न प्रेरणा दिएको उहाँको भनाइ थियो । उहाँले विमोचित कीर्तिले समाजमा यौटा सन्देश दिएको छ, त्यो कीर्ति प्रकाशन गर्ने परिवारबाट हामी सबैले सिक्नुपर्छ भन्नुभयो ।

प्रा.डा. सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले भानुभक्तको कृतिलाई चिनाउनका लागि मोतिराम भट्टले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रा.डा. भागवत ढकालले पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेर विशाल मुलुक निर्माण गरेजस्तै भानुभक्तले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले नेपालमा भात्र नभई भारत, भुटान र वर्मामा भानुभक्तलाई उत्तिकै आदरसत्कार गर्ने गरेको उल्लेख गर्नुभयो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो । उहाँले मर्स्याङदी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्मरण गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार सोमनाथ घिमिरे र डा. उत्तम पौडेलले विमोचित कीर्तिको विभिन्न कोणबाट समिक्षा गर्नु हुँदै आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको भन्दै कार्यक्रमका वक्ताले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान आज पनि सान्दर्भिक भएको बताएका थिए ।
आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समयसम्मको ऐतिहासिक दस्तावेज बन्नेमा म ढुक्क छु । आमाले जसरी लेख्नुभयो, मलाई सुनाउनु भयो, मैले सम्पादन गरिदिएको मात्र हो साहित्यकार अञ्जनाले भन्नुभयो । उहाँले आमाको जीवन भोगाइको यो पुस्तक एकपटक पढिदिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा ८७ वर्षीया मेनकाले आफ्ना अनुभव सुनाउनुका साथै मुखाग्र भएका केही काविताका पंक्तिसमेत सुनाउनु भएको थियो । उक्त अवसरमा दुईलाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आमाबुबाको नामबाट आउँदो सालबाट भानुजयन्तीका अवसरमा ‘कमल– मेनका प्रतिभा पुरस्कार’बाट विभिन्न प्रतिभाहरू, गरिब तथा जेहेन्दार विद्यार्थी र कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई वितरण गर्ने घोषणा मेनकाका छोरा छोरीकोतर्फबाट गरिएको छ ।
तनहुँको चुँदीराम्घामा विसं १८७१ असार २९ गते जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आमजनतामाझ पुर्याउनुभएको थियो । भानुभक्तले रामायणका अतिरिक्त भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा लगायतका कृतिमार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो । उहाँका रचनाहरू सरल भाषा, मिठासशैली तथा जनजीवनसँग निकट भएकाले नेपाली साहित्यमा विशेष स्थान ओगट्न सफल भएका छन् ।
उक्त कार्यक्रममा लोककलाकार शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै एशिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तद्वारा रचित कविता वाचन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्: