योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण

३२ असार २०८३

२०८३, काठमाडौँ, असार २२ गते सोमबार। योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो । नेपाल स्रष्टा समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्वारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित हुनुभयो ।

उक्त सम्मानहरु अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल, राजेश न्यौपानेलगायतले समर्पण गर्नुभएको थियो । यी दुवै सम्मानमा नगदराशी ५० हजार एकसय एक रुपैयाँसहित सम्मानपत्र रहेको थियो ।

प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पण गर्दै भन्नुभयो, ’निरंकुशताका विरुद्ध संघर्ष गर्ने योगमाया विलक्षण व्यक्तित्व थिइन् । सबला नारीको रुपमा उनले समाजका विकृति विरुद्ध खेलेको भूमिका अतुलनीय छ, भन्नुहुँदै  आज सम्मान पाउने उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाज आफैं सम्मानित भएको छ’, भन्नुभयो ।

यसैगरी सोही कार्यक्रममा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको सँगालो ‘योगमाया इतिहासदेखि वर्तमानसम्म’ को लोकार्पण गरियो । यो कृतिका सम्पादक प्रदीप सापकोटा हुनुहुन्थ्यो ।

सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो । उहाँ आफ्नो बाल्यकालतर्फ फर्केर नोष्टाल्जिक पनि हुनुभयो ।

सम्मानित व्यक्तित्व चापागाईँले दुरीको हिसावले योगमाया र आफू जन्मेको ठाउँ धेरै टाढा नभएपनि धेरैपछि मात्र योगमायाको बारेमा थाहा पाएको भन्दै उहाँले भन्नुभयो, ’योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुुनुपर्छ । उनी क्रान्तिकारी कवि थिइन्, त्यसैले उतिबेला नेपालको कानून, राजनीतिको बारेमा प्रश्न उठाउन सकिन् ।’

पुरस्कार संस्थापक पवन आलोकले योगमायाको योगदानको चर्चा गर्नुभएको थियो ।
संस्थापक राजेश न्यौपानेले योगमायाको योगदान आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

सम्मानित व्यक्तित्वहरुको बारेमा इल्या भट्टराईले चर्चा गर्दै  माया ठकुरी हिजो रेडियो खर्साङ र रेडियो नेपालमा गायिका रहेको पनि बताउनुभयो । उहाँका कृतिहरु भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी चापागाईँ साहित्य र राजनीतिमा सँगै हिड्नसक्ने क्षमता भएको व्यक्तित्वको रुपमा उहाँको चर्चा गर्दै राल्फाली आन्दोलन र समालोचनाको क्षेत्रमा उहाँको योगदान बारे जानकारी दिनुभयो ।

न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाका योगदानहरुको प्रचार प्रसार गर्न र राष्ट्रिय विभूति घोषणा गर्न आफूहरु लागि परिरहेको जानकारी दिंदै सम्मानित व्यक्तिद्वयलाई बधाई दिनुभयो । उहाँले आज लोकार्पित कृतिले योगमायाको योगदानको चर्चा सबै सामु पुग्ने आशासमेत व्यक्त गर्नुभयो ।

गायिका भट्टराईले योगमायाका वाणी आजको सन्दर्भमा पनि उत्तिक्कै सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो।  कार्यक्रममा योगमाया रचित गीति भिडियो पनि प्रस्तुत गरियो । जसमा संगीत र स्वर गायिका लोचन भट्टराईको रहेको छ ।

अतिथिको रूपमा नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा.डा.लक्ष्मणप्रसाद गौतम, पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, बागमती प्रदेश संयोजक शंकर भारती, कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपानेलगायत रहनुभएको थियो ।

सह -आयोजक न्यौपाने बन्धु समाज नेपाल रहेको कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश घायलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुनुहुन्छ।  हालसम्म यो सम्मानबाट विभिन्न १८ जना व्यक्तिहरु सम्मानित भैसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: