लेख

तारा के.सी.को शुभकामना !

५ श्रावण २०८३
Tara KC
तारा के.सी. कुँवर

संसाकलाई शुभकामना !

संसाक (संस्कृति, साहित्य र कला) मासिकको १४औँ वार्षिकोत्सवको पावन अवसरमा सम्पूर्ण संसाक परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

काठमाडौंको गोङ्गबुँबाट प्रकाशि हुँदै आएको संसाक केवल साहित्यिक पत्रिकामात्र होइन, यो पत्रिका नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित एउटा सशक्त अभियान हो । चौध वर्षको यस अविरल यात्राले असंख्य स्रष्टाहरूलाई लेखनको प्रेरणा दिएको छ । नेपाली भाषाको गरिमा र मौलिकतालाई समाजका विविध तहसम्म पुर्‍याउन उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

संसाकको सबैभन्दा अनुकरणीय पक्ष भनेको विद्यालय, विद्यालयमा पुगेर ‘विद्यार्थीहरूसँग साहित्यकार, विमर्श र साक्षात्कार’ गराउँदै अन्तरक्रिया सञ्चालन गर्नु, उनीहरूभित्रका सिर्जनशील प्रतिभालाई उजागर गर्नु तथा उनीहरूका उत्कृष्ट लेख, रचनाहरूलाई पत्रिका तथा अनलाइनमा प्रकाशन गर्नु हो ।

संसाकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै अग्रज स्रष्टारूको योगदानको उच्च सम्मान गर्ने सुन्दर परम्परा स्थापित गरेको छ । नेपाली साहित्यका विविध विधामा कलम चलाउने स्रष्टाहरूलाई सम्मानित गर्दै आएको यो अभियान वास्तवमै प्रशंसनीय छ । साथै पत्रिकामा आफ्ना सिर्जना प्रकाशित गर्ने विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई समेत सम्मान गरेर उनीहरूको आत्माविश्वास र सिर्जनशील यात्रालाई ऊर्जा प्रदान गर्दै आएको कार्य अझ प्रेरणादायी छ ।

यस गौरवपूर्ण यात्राका प्रमुख सारथी सम्पादक तथा प्रकाशक उमेश पाण्डेको संसाकप्रतिको प्रतिबद्धता र अथक परिश्रमले संसाकलाई नेपाली साहित्यिक क्षेत्रमा एक विश्वासिलो र सम्मानित संस्थाको रूपमा स्थापित गरेको छ । उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

उपसम्पादकका रूपमा यस गौरवशाली यात्राको एक सहयात्री बन्न पाउनु मेरो लागि गर्वको विषय हो । आगामी दिनहरूमा पनि संसाकले नेपाली भाषा, साहित्य, कला र संस्कृतको उज्यालो यात्रालाई अझ सशक्त बनाउँदै नयाँ पुस्तालाई सिर्जनशीलताको मार्गमा प्रेरित गरिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । संसाकको यात्रा अझ समृद्व, सिर्जनशील र प्रेरणादायी बनिरहोस्, हार्दिक शुभकामना !

तारा के.सी.
उपसम्पादक
संसाक मासिक
२०८३, असार २५ गते ।

प्रतिक्रिया दिनुहोस्: