२०८३ साउन १४, काठमाडौं । नेपाल प्रहरी कलाकार संघले गुरु पूर्णिमाको दिनमा तेस्रो वार्षिकोत्सवको अवसरमा ५ स्रष्टालाई सम्मानित गर्यो।
नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चेतन कार्की गीति वाङ्गमय सम्मान २०८३ बाट वरिष्ठ गीतकार राजेन्द्र थापा, राजपाल थापा नृत्य सम्मान २०८३ बाट नृत्यङ्गना विमला श्रेष्ठ क्षेत्री, गोपाल योञ्जन सङ्गीत साधना सम्मान २०८३ बाट गीतकार डा. किरण प्रधान, हाडा एन्ड पाल हाँस्य वाङ्गमय सम्मान २०८३ बाट वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्त सम्मानित भएका थिए ।
सोही कार्यक्रममा पहिलो पटक प्रदान गरिएको पूर्व प्रहरी कलाकार साधना सम्मानबाट कलाकार अर्जुजङ्ग शाहीलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, फूल/ दुबोको माला, बुके, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो।

नेपाल प्रहरी कलाकार संघको वरिष्ठ सल्लाहकार तथा चर्चित कलाकार मिथिला शर्माले ४ स्रष्टाहरूको नाममा स्थापित सम्मानबारे संक्षेपमा प्रकाश पार्दै सम्मानित व्यक्तित्वहरूका बारेमा पनि प्रकाश पारेकी थिइन्। इतिहास रच्नुहुने स्रष्टाहरूले अर्थ आर्जनभन्दा भावना बोक्दै दरिलो प्रभाव छाडेको बताइन् ।
संघका संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य राख्दै ऐतिहासिक योगदान पुर्याएका कलाकारहरूको सम्मान गर्ने व्यवस्था मिलाएको बताए ।
कार्यक्रममा सांगीतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो भने संघका कोषाध्यक्ष गणेश गोपालीले संघको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
राष्ट्रिय गान र गुरु वन्दना गरिएको सो कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ज्ञात अज्ञात शहीदहरूको सम्मान तथा सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियोे।
नेपाल पुलिस क्लव, भृकुटीमण्डपमा भएको कार्यक्रममा प्रहरी परिवार, कलाकार तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्: