कविता

तितो सत्य

२ आश्विन २०८१
हरिहर बाँस्तोला

अनन्त सम्भावनाका पदचापहरूपच्छ्याउँदै
शहरतिर भास्सिएकोे म
हराइरहेछु भिडभित्र
निस्सार, निसहाय !

निरस यो शहरी रमझमबाट बुर्लुक्क बुर्कुसी मार्दै
मन पुग्छ घरीघरी,
रसिलो त्यही गाउँघरको परिवेशमा
मुक्त अनि स्वतन्त्र त्यो परिदृश्यमा रम्न
सिरसिर बतास चल्ने चौतारीमा सुस्ताउँदै,
साथी सङ्गीहरूसँग बसिविँयालो गर्न
तल्लो घर, माथ्लो घर, वल्लो घर पल्लो घर चहार्दै
हालखबर बुझ्दै, दुःख सुखका कुरा गर्न हरपल ललायित छु म ।

उष्ण र बिरसिलो तातो हावाले पोल्दा
मन झसङ्ग हुन्छ मन्द चल्ने शीतल हावा सम्झेर
कोकाकोला र रेडबुलले आँत सुकेको बेला
मन दुःखी हुन्छ लटक्क परेको दही र पँधेराको चिसो पानी सम्झेर ।

वल्लो डेरामा बस्ने मानिस भोकै काममा जाँदा
पल्लो डेराकोले मासु र भात फ्याँक्ने यो शहरमा
सम्झिरहन्छु म
मिठो चोखो आपूmकहाँ पाक्दा
छिमेकीलाई खान बोलाउने गाउँले चलन ।

करेसाबारीको तरकारी हुन् वा बगैँचाका फलफूल
झोला भरिभरि पुर्‍याउन लाने, परिपाटी
दुहुनो वस्तु नहुने छिमेकी कहाँ
दही र दूध ओसार्ने सहृदयीपन
कहाँ पाइन्छ र शहर बजारमा ?

एउटालाई दुःख पर्दा
गाउँभरिका जम्मा भएर दुःख साट्ने
अर्काको सुखमा रमाउँदै, खुसी हुँदै दिनहरूकाट्ने,
ती आत्मियताका पुजारीहरू
कहाँ भेटिन्छन् र व्यस्त अनि त्रस्त यो शहरमा ?

मेला-पर्म, रोदी र मारुनीका अनुपम दृश्यहरू
रोपाइँ र बेठीका ती उल्लासमय क्षणहरू
रत्यौली र जात्रा मात्राका रन्कोहरू
पूजापाठ र होम-होमादीका अवसरहरू
कहाँ अनुभूत गर्न पाइन्छ र आधुनिक यस शहरमा ?

विज्ञान र प्रविधिले फडको मारेको यस समयमा
गाउँ गाउँहरू अनुदित भइरहेछन् शहरमा
गाउँ शहर पसे पनि वा
शहर आधुनिकताको उन्मादमा फसे पनि
नफेरियून ती आत्मीय मनहरू
नफेरियून ती मानवीय भावनाहरू
अर्काको दुःखमा दुःख्ने र सुखमा रम्ने
ती दयावान मनहरू रहिरहून त्यस्तै
परोपकार, करुणा र मैत्रीका भावहरू
छचल्किउन सदा उनीहरूका आँखामा
दोहोरी गीतका बान्कीहरू गुञ्जिरहुन संगीतका भाकामा ।

गाउँ शहर जस्तो हैन
शहर गाउँ जस्तै बनोस्
आत्मीयता, सहयोगीपन र सरलता
फक्रेर झाङ्गिरहोस्
प्रत्येक शहरबासीको मन, मस्तिष्क अनि व्यवहारमा ।

तारकेश्वर-३, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: