कविता

साझा दशैं

१ कार्तिक २०८१
माया बस्नेत थापा

वर्षैपिच्छे आउँछ दशैं
कतिलाई हर्ष, उमङ्ग बन्छ दशैं
कतिलाई दुःख, पीडा बोकाउँछ दशैं
भन्छन् कति आयो आयो बहार ल्यायो ।

तर खै !
खुशी लिएर आउँदैन गरिबको दशैं
दिनरात पसिना बगाए पनि रित्तै हुन्छ पेट
खपिसक्नुछैन महङ्गी र अभावको चोट
किन बन्दैन होला सबै अटाउने साझा दसैं ?

घाम छेक्ने बादलका घेराझैँ
गरिबको मझेरीको खुशी छेक्छ दशैं
भन्छन् सबै ‘आयो दशैं ढोल बजाइ
गयो दशैं ऋण बोकाइ’ दसा बन्छ दशैं ।

वर्ष दिनको पर्व दशैं दिलको राजा पर्खाउँछ
केले होला मन बुझाउने विरहको बेला
गरिबीले घेरेपछि अभावले पार्ने रहेछ पीर
पेटको आगो निभाउन गाछन् परदेश ।

यता घरमा बालबच्चा बिचल्लीमा हुने
सुख भोग्ने तिर्सनाले सधैं सताइरहने
धर्ती सिङ्गै चम्काउने श्रम गरिरहने
सूर्यको अनन्त प्रकाश पछ्याउने ।

रहरले हिडाउँछ जीवन सजाउनुछ
सयौं नदीको सहस्र मिलन समुद्र जस्तै
जीवनमा रङ भरेर सबै सँगै रमाउन
साझा संस्कृति भई आऊ दशैं ।

समताको पयोमा धनी गरिब उनेर
सग्लो आँगन सजाउने सिर्जनामा आऊ दशैं
अहंकारको भारी बिसाउन मित्रताको गुच्छासँग
जीवनभरि मुस्कानको बहार भर्न आऊ दशैं ।

टोखा-४, धापासी, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्: