वैशाखको एउटा घमाइलो दिनमा पुस्तक दराजबाट सानो आकारको काव्य झिकेर बर्दलीमा बसें । ज्यान घाममा थियो, पुस्तक ज्यानको सिंयालमा थियो । पुस्तकको नाम थियो अन्तर्बोध, एउटा आध्यात्मिक काव्य ।
सर्जकको नाम डा सत्यराज थपलिया ।
यस कृतिमा मूल रुपमा दुई प्रश्नहरू उत्तरित भएका छन् ।
१. अन्तर्बोध भए के हुन्छ?
२. अन्तर्बोध नभए के हुन्छ?
काव्यमा गणेश भास्कर भारती शंकर कृष्ण माधव लगयतका दिव्य शक्तिको उपासना र चरणबन्दनामा चार श्लोक सजाइएको छ । कृति लेखनका लागि आफ्नै अन्तर्बोध खुलाउन अनुनय गरिएको छ ।
त्यसपछिका एकसय चार श्लोकमा उपरोक्त दुई प्रश्नका उत्तर दिनमा करिब बराबरी शब्दहरू सिर्जना भएको छ । अन्तिम एक श्लोकमा पाठकलाई कृति पठनका लागि सप्रेम अनुनय गर्दै सर्जक प्रस्तुत काव्यबाट विदा हुनुभएको छ ।
पूरै कृति पढ्दा प्रथम पातो र अन्तिम पातो विनयी भावमय लाग्दछ भने बाँकी पातोहरू धर्माभिमुखी र सत्कर्मप्रती उत्प्रेरक छन् । अर्थार्जनमा विवेकको उपयोग गर्न सुझाइएको छ भने मोक्षको मार्ग पनि खुलाइएको छ।
अन्तर्बोध भए दिलमा दुर्भाव हुँदैन, बोली मधुर हुन्छ, धर्म पोलिदैन, मन शंकीर्ण हुँदैन, सत्कर्म गरिन्छ । मानिस आलोचित हुँदैन , निषेधित कर्म गरिंदैन । अन्तर्बोधयुक्त मान्छेले छुवाछुतमा विश्वास गर्दैन । अन्तर्बोध हुनेले अखाद्य व्यापार गर्दैन। अन्तर्बोधीले सर्वत्र देवता देख्छ।
यो अन्तर्बोध र रुदानेको थाहा उस्तै लाग्यो मलाई ।
रुदाने भन्ने गर्नुहुन्थ्यो -सत्य थाहा भए असत्य नाश हुने ।
साँच्चै अन्तर्बोध भयो भने जीवन जुन बाटोमा हिड्नुपर्ने हो सोही मार्गमा हिंड्छ, नत्र कुमार्गतिर लाग्न सक्छ ।
डा थपलियाकृत प्रस्तुत काव्यले पाठकको मनमा केही हदसम्म अन्तर्बोध अवश्य जागृत गराउँछ । यदि कसैलाई आफैंभित्र सुशुप्त रुपमा विद्यमान अन्तर्बोध थप जागृत गराउने इच्छा छ भने नयन र मन नारेर पुस्तक जोत्न सक्नुहुन्छ । मानवजातिको अन्तरबोध जागृत गराउनुहुने कवि डा थपलियासँग यस्ता सुन्दर कृति अनेकानेक आओस् भन्ने अपेक्षा राख्दछु ।
शब्दसेना
प्रतिक्रिया दिनुहोस्: