‘मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति’ यस भनाइबाट यो स्पष्ट हुन्छ कि ? यात्राको अर्थ गति हो । नियात्रा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा नराम्रा अनुभवहरूलाई जस्ताको तस्तै वर्णन गरिन्छ । हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयार गरिन्छ । अनुभवहरू सङ्कलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न, यात्रा अनिवार्य हुन्छ । पढेका कुरा बिर्सन सकिन्छ तर प्रत्यक्ष देखेका, अनुभव गरेका कुरा हाम्रो मानसपटलमा सदा ताजा रहिरहने हुँनाले पनि यात्रा गर्नुपर्ने हुन्छ । मानिसलाई व्यस्त जीवन, दिनरातको काम गरिरहँदा कहिलेकसो यात्राले पनि पुनः ताजापन आउने हुनाले पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ । कुनै पनि ठाउँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, पौराणिक, ऐतिहासिक महत्त्व बुझ्न त्यस ठाउँको भाषा, धर्म, संस्कृति, रहनसहन, जीवनशैली, चालचलन नजिकैबाट नियाल्न यात्रा आवश्यक हुन्छ । यात्राबाट हामीले प्रत्यक्ष रूपमा धेरै तीतामीठा अनुभवहरू सङ्कलन गर्छौं ।
गैंडाकोट नगरपालिका वार्ड नम्बर–१ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट हामी शिक्षकसाथीहरू दोलखा जिल्लामा अवस्थित कालिञ्चोक भगवतीको थानमा जाने निर्णय गर्यौँ । त्यसका लागि २०८० साल पौष २८ र २९ गतेलाई रोज्यौँ । हामी २० जना शिक्षकसाथीहरू बिहानको ५ः०० बजे हाइसमा चढ्यौँ । जसमा म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ ।
नारायणगढ, मुग्लिनको सडकखण्ड हुँदै हाम्रो यात्रा अगाडि बढ्यो । हामी बिहान ११ः०० बजे कलङ्की पुग्यौँ र खाना खायौँ ।
त्यसपछि हाम्रो यात्रा बनेपा, धुलीखेल, पाँचखाल, दोलालघाट सिन्धुपाल्चोक, सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै अगाडि बढ्यो । सिलढुङ्गा, मुडेमा खाजा खाई खरीढुङ्गा, गोच, मकैबारी हुँदै चरिकोटसम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ८ः०० बजेको थियो । त्यहाँ किनमेल गरेपछि चरिकोटबाट अलिकति अगाडिबाट कुरीगाउँ जानका लागि छुट्टै वलेरो जीप र हाइसमा दस–दसजना गरी गयौँ । १८ किलोमिटरको पहाडी घुमाउरो, साघुँरो बाटो रहेछ । कहीँ कच्ची त कहीँ पक्की बाटो हुँदै हामी उकालो चढ्दै गयौँ । रातिको समय जङ्गली जनावरहरूको डर, दुवैतर्फ घना जङ्गलका बीच साघुँरो बाटो हुँदै हामी उकालो लाग्यौँ । हामी कुरीगाउँ ९ः३० मा पुग्यौँ ।
हामी त्यहाँ गएर होमस्टेमा बस्यौँ । अत्यन्तै चिसो, हिउँ पर्ने ठाउँ रहेछ कुरी गाउँ । होमस्टेका दाजुले दुईटा मकलमा आगो बालिदिनु भयो । हामी चिया पिउँदै त्यहीँ आगोको नजिक गोलो भएर बस्यौँ । दिनभरिका यात्राका लगाएत अन्य विषयका गफ र कुराकानी भए । रातको ११ः३० बजे खाना खायौँ । त्यसपछि केही साथीहरू हिउँ परेको हेर्न जानुभयो । राति १ः०० बजे सुत्यौँ ।
भोलिपल्ट बिहान ५ः०० बजे हामी सबैजना उठ्यौँ । बिहानको नित्य कर्म सकेर हामी कालिञ्चोक भगवतीको थानतर्फ लाग्यौँ ।
नेपालको दोलखा जिल्लामा रहेको समुन्द्री सतहदेखि करिब ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको थानतर्फ प्रस्थान गर्यौँ । हामी जादैँ गर्दा कोही साथी पैदल हिँडेर त कोही साथी केवलकारबाट गयौँ । हामी ५ः०० मिनेटमा केवलकारबाट डाँडामा पुग्यौँ । त्यहाँबाट चारैतिर देखिने हिमशृङ्खला, मनोरम प्राकृतिक दृश्यले सबैको मन लोभ्यायो । त्यहाँबाट देखिने कञ्चनजंघा, जुगल, गणेश, गौरीशङ्कर लगाएतका अन्य हिमाली दृश्य अत्यन्तै मनमोहक थिए । त्यहाँ नजिकै सेल्फी डाँडा रहेछ । त्यहाँबाट देखिने चारैतिर पहाड बीचमा झुरुप्प कुरी गाउँ, जसमा एकै किसिमका घरहरूले पनि सबैको ध्यान खिचिरहेको थियो ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक , पौराणिक विविधताले भरिएको उक्त ठाउँले स्वर्गीय, अलौकिक आनन्दको अनुभूति गरायो । जसको कोही हुँदैन त्यसको कालिञ्चोक भगवती हुन्छिन् भन्ने जनविश्वास रहेछ । भगवतीको थानमा एउटा मात्र वरदान मागेमा सो वरदान पूरा हुने जनविश्वास रहेछ । दर्शन गर्ने मानिसहरूको लामो ताँती र वरपर पनि उत्तिकै भिड थियो । भगवतीको थानमा विशेषगरी त्रिशूल र घन्टी चढाइने रहेछ । त्यहाँ मङ्गलबार र शनिबार भक्तजनहरूको भीड हुँने कुरा मन्दिरका पुजारी भीम थापाबाट जानकारी भयो । त्यहाँ विशेष गरेर नयाँवर्ष, वडादशैं, चैतेदशैं, जनैपूर्णिमा लगाएतका पर्वहरूमा बढी भीड हुने रहेछ ।
हामी करिब ८ः३० बजेतिर त्यहाँबाट फर्कियौँ । सबैजनाले खाना खाइसकेर ९ः३० मा जीप चढी तल झर्यौँ । साह्रै मनमोहक दृश्य, हिमाल, पहाड, वरिपरिको बजार सबै देखिने हुँदा रमाइलो अनुभव भयो । बाटो साघुँरो भएपनि त्यहाँबाट देखिने दृश्य अत्यन्तै सुन्दर थियो ।
करिब ११ः३० मा हामी दोलखा, चरिकोटको भीमेश्वर मन्दिर दर्शन गर्न पुग्यौँ । मन्दिर पुग्नुभन्दा केही अगाडिबाट ढुङ्गाले छापेको साघुँरो बाटो रहेछ । मन्दिरमा बिहान, दिउँसो गरी विशेषतः तीन अवतारको पूजा गरिने रहेछ । देशमा ठूलै अनिष्ट हुनु पूर्व भीमेश्वर महादेवको मूर्तिमा पसिना आउने रहेछ ।
शाहवंशीय राजा वीरेन्द्रको वंशनाश हुँनु पूर्व, २०७२ सालको भूकम्प जानु पूर्व मूर्तिमा पसिना आएको रहेछ । मूर्तिमा पसिना आएमा देशमा ठूलै अनिष्ट घटना घट्न सक्ने सङ्केत हो भनी स्थानीय बासिन्दाहरूले विशेष किसिमको पूजा गर्नेगर्दा रहेछन् भन्ने जानकारी मन्दिरका पुजारीबाट थाहा भयो ।
धार्मिक मान्यता, व्यापारिक दृष्टिकोणले पनि भीमेश्वर मन्दिर चिनिने रहेछ । कालिञ्चोक भगवतीको थानमा दर्शन गरेपश्चात भीमेश्वर मन्दिरको दर्शन गरेपछि मात्र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पनि मन्दिरका पुजारीबाट जानकारी भयो ।
हामी सबैजना १ः०० बजे त्यहाँबाट फर्कियौँ । करिब ३ः०० बजे मुडेमा खाजा खाई सिन्धुपाल्चोकको खाडीचौरबाट लामोसाँघु हुँदै हामी अगाडि बढ्यौँ । बाटो वरिपरिको प्राकृतिक स्रोत एवम् कृतिम संरचना हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । बाह्रबिसे, राम्चे, भोटेकोशीमा रहेको ठूला–ठूला सुरुङहरू हेर्दै तातोपानी हुँदै नेपाल र चीनको सङ्गम स्थल खासासम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ५ः२० भएको थियो ।
करिब ७ः०० बजे हामी त्यहाँबाट पुनः फर्कियौँ । हाम्रो घर फर्कने रात्रिकालीन यात्रा शुरु भयो । राति ११ः०० काठमाडौँको कलङ्की आएर खाना खायौँ । १२ः२० मा हामी त्यहाँबाट हिड्यौँ । धादिङ्मा चिया पिई पुनः हामी त्यहाँबाट फर्कंदै गर्दा हामी सबै निदाएका थियौँ । समय २ः४० भएको रहेछ ।
बेनीघाटमा आइपुग्दा मुग्लिनबाट जाँदै गरेको बस र हामी चढेको हाइस करिब १० मिटरको बीच दुरी थियो । एक्कासी ! माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसी दुवै गाडी टक्क रोकियो । हामी चढेको हाइसमा ठूलै ढुङ्गाले लागी हाइस अगाडिको भागमा क्षति भयो । सबैजना हतासियौँ र डरायौँ पनि । हाइस व्याक गर्दा पछाडि जीपमा नराम्रोसित ठोकियो । पछाडि जाम परी सकेको रहेछ ।
सबैजना अतालिदै ओर्लिनु भयो । म भने अगाडि थिएँ । हाइसको ढोका खुलेन सायद ! आत्तिएर होला । यसो पछाडि हेर्दा त सबै निस्किसक्नु भएको रहेछ । यसो हेर्दा त सुरज सर र ड्राइभर दाजु पनि निस्किसक्नु भएको रहेछ । अनि त झन् आत्तिँदै ड्राइभरको साइडबाट निस्किए । पहिरो खस्ने क्रम जारी रह्यो । सबैजना स्तब्ध भयौँ । एक–अर्काको मुखमा टुलुटुलु हेरिरह्यौँ । हातगोडा थरथर कापिरहेका थिए । आज ! ठूलै कालले बाँचियो भन्यौँ, भगवान् सम्झियौँ ।
जीप र हाइस बीचमा विवाद सृजना हुँन थाल्यो । अनुकुल समय हेरेर हामी बाटो कट्यौँ । केही अगाडि बेनीघाटको अस्थायी प्रहरी क्याम्पमा आयौँ । विवादले ठूलै रूप लियो । हाइस र जीप बीच कानुनी प्रक्रियाबाट सहमति भयो । हामी बिहान ४ः२० मा पुनः त्यहाँबाट नारायणगढतर्फ अगाडि बढ्यौँ । यसरी बिहान ६ः३० बजे सकुसल घरमा आइपुयौँ ।
नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ । कति बेला कहाँ के हुँने हो, थाहा छैन ? यस्तो स्थितिमा आन्तरिक पर्यटक लगाएत अन्यलाई पनि अत्यन्त जोखिम छ । पहाडी बाटो डोजर चलेपछिको खुकुलो माटो कतिखेर खस्ने हो थाहै छैन ? आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्ने कस्तो वाध्यता ? यसमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
आन्तरिक पर्यटकलाई प्रवद्र्धन गराउँन सकेमा हाम्रो देशमा विभिन्न ठाउँका कुनाकाप्चामा रहेका स्वर्गीय आनन्द महसुस गराउँने यस्ता कैँयौँ ठाउँहरू छन् । जुन हामीले नजिकैबाट देख्न, बुझ्न र जान्न जरुरी छ । हामी विदेशका झिलमिलदेखि रमाउँन खोज्छौँ तर आफ्नै देशको बारेमा खासै चासो राख्दैनौँ । पहिला आफ्नै देशका विभिन्न ठाउँको बारेमा अध्ययन, अवलोकन, भ्रमण गरी जानकार रहनुपर्छ । जसले गर्दा नेपालमा रहेका विभिन्न जात, विभिन्न भाषा, विभिन्न संस्कृति, रहनसहन, चालचलन, दिनचर्या, भौगोलिक पर्यावरण, जनजीवन, परम्परालाई नजिकैबाट अध्ययन गर्न सकिन्छ । नेपालका विभिन्न आस्था बोकेका धार्मिक स्थलहरूको पनि जानकारी हुन्छ । नेपाल क्षेत्रफलमा सानो भएता पनि यहाँ विभिन्न भाषा, जात, धर्म, संस्कृति, परम्परा अटेकाले यो आफैंमा विशाल छ ।
गैंडाकोट–४, नवलपुर
प्रतिक्रिया दिनुहोस्: