कविता

टालो

१२ फाल्गुन २०८१
पूर्व सेनानी टंकबहादुर बजगाई खत्री

कपडाको सानो टुक्रो टालो मेरो नाम
गरिबको लुगा टाल्ने गर्छु मैले काम ।
धनीमानी जतिले त फोहोरमा फाल्छन्
गरिबले जोगाएर लुगाफाटो टाल्छन् ।१।

ठूलोठालु घरतिर छैन मेरो आस
गरिबको घरतिर हुन्छ मेरो बास ।
दुःखीदाखी परिवार मेरा मित्र साथी
फाट्या लुगा टालिदिन्छु बस्छु चोटामाथि ।२।

झुत्रोमुत्रो टालिदिन्छु तातो न्यायो लिन्छन्‌
दुःखीदाखी सबैले नै धन्यवाद दिनछन् ।
सानु टालो भए पनि कस्तो मेरो सान
गरिबको झुपडीमा हुन्छ मेरो मान ।३।

च्यातिएको कुर्सी टाल्ने उपयोगी टालो
त्यही कुर्सीतिर बस्ने गर्छन् आलोपालो ।
सानु टालो भए पनि टाल्ने गर्छु दुलो
कुराभन्दा सेवा दिने त्यही हुन्छ ठूलो ।४।

कपडाको सानो टुक्रो टालो मेरो नाम
सानै टुक्रो भए पनि सेवा दिने काम ।
थाङ्नो टाल्ने टालो भनी नहेप है साथी
जसले बढी सेवा दिन्छ उही हुन्छ माथि ।५।

बनेपा–३, काभ्रे। 

प्रतिक्रिया दिनुहोस्: