दागबत्ती
ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौं
विमलले आश्चर्य मान्दै भने, ‘हैन तिमी पनि घाटमा ? फेरि आँखामा आँसु छ । यो खुसीको आँसु हो कि, दुःखको आँसु हो भाइ ?’
आँखा ओभानो पार्दै सुरज बोले, ‘मसानघाटमा, त्यो पनि लासको अगाडि कसरी खुशीको आँसु झर्ला र दाइ !’
विमलले भने, ‘भाइ पनि मजाक गर्छौ । मलाई अस्तिजस्तै लाग्छ, त्यत्रो बिहेको भोजमा रमणले तिमीलाई मेरो छोरासँग नबस । औकात नभएको खाते भन्दै धकेल्दा तिमी जोडसँग पछारिएका थियौ । त्यस्ता पापीको कर्तुत पनि बिर्सियौ त ?’
सुरज सानो स्वरमा बोले, ‘हजुरलाई थाहा नै छ । कुलतमा फसेर बीस बाइसे उमेरमै म पत्रु भएको थिएँ । बिहेमा सबैको सामु उहाँले गरेको घृणाले म ज्यादै रन्थनिएँ । तँ पाजीलाई मेरो औकात देखाउँछु भन्दै ज्यान दिएर पढेँ । उहाँकै कारणले परराष्ट्रको सहसचिवसम्म भएँ ।’
विमल कथा सुनेझैँ एकोहोरो सुरजका कुरा सुनिरहेका थिए । सुरजले कुरा थपे, ‘सरका छोराबुहारीले दुःख दिएको थाहा पाएपछि उहाँलाई घरमा ल्याएँ । फूलैफूलको बिछ्यौना दिएँ । सरले बारम्बार यही भन्नुहुन्थ्यो, सुरज मलाई माफ त दियौ । भोलि दागबत्ती पनि तिमीले नै देऊ छोरा ! त्यसैले उहाँको कुरा टार्न सकिनँ दाइ !’


प्रतिक्रिया दिनुहोस्: