प्रोफेसरको दैनिकी

३१ जेष्ठ २०८२

खोज, अनुसन्धान र लेखनमा सक्रिय हुनुपर्ने भएकाले प्रोफेसरको दैनिकी अरूकोभन्दा केही फरक हुनसक्दछ
प्रा.डा.गोविन्दमानसिंह कार्की

प्रोफेसरको दैनिकीको यसपालिको अङ्कमा त्रिचन्द्र कलेजको इतिहास विभागको विभागीय प्रमुख प्रा.डा.गोविन्दमानसिंह कार्कीको दैनिकी तयार पारेका छौँ । प्रा.डा.कार्कीको दैनिकी पारामाउण्ट एकेडेमी, टोखा–८, बानियाँटार, काठमाडौंका भाइबहिनीहरू समीक्षा राउत (कक्षा : १०) र सुशान्त थापा (कक्षा : ८) ले तयार पारेका हुन् । कुराकानीका आधारमा भाइबहिनीहरूले तयार पारेको डा.कार्कीको दैनिकी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

१. बिहान कति बजे उठ्नुहुन्छ ?
– म सामान्यतया लामा दिनमा बिहान ५ः३० बजे र छोटा दिनमा ६ बजे उठ्ने गर्छु ।
२. उठेपछि के गर्नुहुन्छ ?
– मेरो बिहान उठेपछि दैनिक नित्यकर्म गर्ने र त्यसपछि छोटो व्यायाम गर्ने बानी छ ।
३. बिहानको खास कार्यतालिका के हुन्छ ?
– समय, परिस्थिति र अनुकूलता हेरेर दैनिक कार्यतालिक बन्छ । बिहान पत्रपत्रिका हेर्ने, टेलिभिजन हेर्ने, साथीभाइसँग भेटघाट र विश्वविद्यालयको प्राध्यापक भएको हुनाले नियमित पठनपाठनको लागि तयारी गर्नुपर्ने हुन्छ।
४. बिहान खाजा खानुहुन्छ कि हुन्न ?
– साधारणतया बिहान मेरो खाजा खाने बानी छैन । चिया भने नियमित पिउँछु ।
५. खाजा खानेभए के खानुहुन्छ ?
– कहिले काहीँ बिहान खाजा बन्यो भने पुरी तरकारी बन्छ । म त्यही खान्छु ।
६. खाना कति बजे खानुहुन्छ ?
– खाना सामान्यतया बिहान ९ बजेदेखि ९ः३० सम्ममा खाने चलन छ । कुनै बेला योभन्दा थोरै ढिलो पनि हुनसक्छ।
७. खाना कस्तो मीठो लाग्छ ?
– खानामा मलाई नेपाली खाना दालभात, तरकारीमा तामा, गुन्द्रुक, सागपात आदि मनपर्छ । मलाई माछामासु खाने रहर पनि त्यत्तिकै हुन्छ ।
८. कलेज कतिबेला जानुहुन्छ ?
– म दिउँसो १२ बजेसम्ममा कलेज पुगिसक्छु ।
९. कलेजको दैनिकी कस्तो छ ? के के गर्नुहुन्छ ?

– म हाल त्रिचन्द्र कलेजको इतिहास विभागको विभागीय प्रमुख भएकोले त्यस विषयको पठनपाठन, प्राज्ञिक कार्य र कलेज प्रशासनले बेला बेलामा दिनेगरेको विशेष जिममेवारीसमेत पूरा गरेर कलेजमा आफ्नो जिम्मेवारी निभाउँछु ।
१०. कलेजबाट घर कति बजे फर्किनुहुन्छ ?
– म कलेजबाट घर फर्कंदा सामान्यतया दिउँसोको ४ देखि ५ बजिसकेको हुन्छ ।
११. घर आएपछि के गर्नुहुन्छ ?
– घर आएपछि चिया नास्ता गर्ने र भोलिपल्टको लागि कक्षाको तयारीमा लाग्छु ।


१२. कलेज नगएको दिन के गर्नुहुन्छ ?
– कलेज नगएको दिन घरमा बस्ने, कतै छोटो भ्रमणमा जाने, पारिवारिक भेटघाट गर्ने र कतिपय समयमा खोज, अनुसन्धान कार्यमा सक्रिय हुने गर्दछु ।
१३. दिउँसो खाजा खानुहुन्छ ?
– खान्छु । दिउँसोको खाजा साधारणतया २ बजेदेखि ४ बजेको बीचमा खाने चलन छ ।
१४. साँझ कसरी बित्छ ?
– मेरो घरमा आवश्यक हुने तरकारी, फलफूल, माछामासु लगायतका दैनिक खाद्य उपभोगका वस्तुहरू म आफैं लिएर आउँछु । कहिले काहीँ तरकारी काट्ने र खाना बनाउनमा समेत आफूलाई अगाडि सार्ने गर्दछु ।
१५. राति कतिबेला खाना खानुहुन्छ ?
– सामान्यतया राति ७ देखि ८ बजेको बीचमा बेलुकाको खाना खाने गर्दछु ।
१६. खाना खाएपछि के गर्नुहुन्छ ?
– खाना खाएपछि टेलिभिजनको समाचार सुन्ने र एकछिन फेसबुक पनि चलाउने मेरो बानी छ ।
१७. राति कतिबेला सुत्नुहुन्छ ?
– लामा दिनमा १०ः३० देखि ११ बजेको बीचमा र छोटा दिनमा ९ः३० देखि १० बजेको समयभित्र म सुतिसकेको हुन्छु । तर कहिले काहीँ लेख्ने पढ्ने काममा राति अबेरसम्म पनि बस्नुपर्ने हुन्छ ।
१८. हजुरको र आम मानिसहरूको दैनिकीमा के फरक छ जस्तो लाग्छ ?
– मानिसको आफ्नो काम, पेशा, व्यवसाय, उमेर र बानी अनुसार दैनिकी फरक फरक हुन्छ । म पनि अरू जस्तै सामान्य दैनिकी भएको मान्छे हो । प्राध्यापकको रूपमा शैक्षिक गतिविधिमा सक्रिय हुने, साहित्यिक कार्यक्रममा सहभागी हुने, साहित्यिक तथा शैक्षिक कार्यक्रममा वक्ताको जिम्मेवारी लिने, विभिन्न राष्ट्रिय टेलिभिजनहरूमा राजनीतिक विश्लेषकको रूपमा आफ्ना धारणाहरू राख्ने, खोज अनुसन्धान र पुस्तक लेखनमा सक्रिय हुनुपर्ने भएकाले मेरो दैनिकी अरूकोभन्दा थोरै फरक हुनसक्दछ ।
१९. सामान्यतः आफ्ना दिनहरूलाई सुखी र खुशी राख्न के गर्नुपर्छ भन्ने लाग्छ ?
– आफूलाई सुखी र खुशी राख्न सकारात्मक सोचको जरुरी हुन्छ । तनाव मनमा नलिने, दैनिक व्यायाम गर्ने, खानपिनमा विशेष ध्यान दिने, समय समयमा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने, साथीभाइहरूसँगको भेटघाट र अन्तरक्रिया आदिबाट पनि हामीले आफूलाई सुखी र खुशी राख्नसक्दछौँ ।
२०. बिहान उठ्दा पहिला के सम्झनुहुन्छ र सुत्ने बेलामा के सम्झँदै सुत्नुुहुन्छ ?
– म भोलेबाबा र दुर्गामाताको परमभक्त भएकोले यी दुई शक्तिको स्मरणले मेरा धेरै समस्याहरू सुल्झिएको जस्तो महसुस हुन्छ । त्यसैले बिहान सर्वप्रथम यिनै शक्तिहरूको सम्झना गर्दछु । त्यसपछि त्यो दिनमा गर्नुपर्ने कामको सूची हेरेर मनस्थिति तयार पार्छु । राति सुत्ने बेलामा भने दिनभर गरेका कामहरू र भोलिपल्ट गर्नुपर्ने कामको विषयमा थोरै मन्थन गरेर शयनकक्षमा प्रवेश गर्दछु ।
२१. साहित्यको लेख पढचाहिँ कुन बेला गर्नुहुन्छ त ?
– पढ्ने, लेख्ने कार्य बिहान र बेलुका हुन्छ । छुट्टीको दिनमा पनि विषयगत खोज अनुसन्धान र साहित्यिक लेखन कार्य हुनेगर्छ ।

प्रस्तुति : 

प्रतिक्रिया दिनुहोस्: