मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित

१६ भाद्र २०८३

काठमाडौँ । कवि मधु पाठकको नविनतम् कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ ।

नेपाल स्रष्टा समाजद्धारा प्रकाशित उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन् ।

लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रूपमासमेत क्रियाशील पाठकको कविताको कथ्यमा विविधता भएका कविताहरूमा साङ्केतिक रूपमा आशावादी जीवनदृष्टि प्रस्तुत भएका छन् । स्वभाविक बिम्बको प्रयोगले ती कविताहरूका भाव सबल भएको पाइन्छ ।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमका अनुसार, ‘संवेदनामा प्रेम, मातृत्व, करुणा, अनुभूति र हार्दिक पक्षको गहिरो अभिव्यक्ति पाइन्छ भने वर्तमान युगजीवनका यथार्थ, देशले भोग्नुपरेका विडम्बना र देश दुखेका बिम्ब, मान्छेमा हराउँदै जान थालेको संवेदना र मानवता, जनताले भोग्नुपरेका त्रासद परिस्थिति आदि पनि यी कविताका विषय बनेका छन् । आफ्ना अन्तर्हृदय र अन्तरचेतनाका आवाजलाई निश्छल रूपमा अभिव्यक्त गर्नु यस सङ्ग्रहका कविको विशेषता हो ।’

मधुका कविताप्रति श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्, ’प्रत्येक कविताले एउटा कथालाई काव्यात्मक रूपमा पस्कने कविको कला प्रशंसनीय छ ।’

समय संवेदनालाई मिहिन ढङ्गले बुझेर सिर्जित पाठकका कविताहरूमा विविध प्रसङ्ग सम्बोधन भएको कवि ऋषभदेव घिमिरेले बताएका छन् ।

‘अग्नि -आलाप’ कृतिको मूल्य रु.२५०।- रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: