२०८३, असोज १ गते, काठमाडौँ । कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह ‘दृष्टिबोध’ लोकार्पित भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा भरतकुमार भट्टराई, पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गर्नुभएको थियो ।
नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘प्राविधिक रुपले पनि सुवेदीका कथाहरु वलिष्ठ छन् । उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन् ।’
अर्का वक्ता प्राडा गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ र अनुभूति भोक्ता स्रष्टा भएर अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रूपमा उनको चर्चा गर्नुभयो ।
कृतिमाथि चर्चा गर्दै प्राडा भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताउनुभयो । कृतिभित्र २४ वटा कथा रहेको भन्दै उहाँले प्रायःकथाहरू नारीवादी दृष्टिचेतले लेखिएको बताउनुभयो । नारीको भित्री ह्रदयहरू केलाएर कथा बनेको छ । पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरू कथाका विषय बनेका छन् । कतिपय कथाहरू प्रतीकात्मक रहेको पनि प्राडा भट्टराईले बताउनुभयो । साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्नसक्नु कथाकारको विशेषता भएको उहाँले बताउनुभयो ।
अग्रज साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कथाकार सुवेदीले आफुले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कथाको पात्रमा पसेर लेख्छु, पात्रको ठाउँमा रहेर लेख्छु । नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापूर, मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रूप दिएको छु ।’
कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको थियो । महासचिव मधु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: