
प्रोफेसरको दैनिकी
एउटा मान्छेले दैनिकजीवनमा अनेकौँ कामधन्दाहरू गर्छन् । बिहान उठेपछि बेलुका नसुतेसम्म उसका दिनैपिच्छेका अनेकौँ घटना र कामहरू हुने गर्छन् । सामान्य होस् या विशिष्ट पद वा ओहोदामा रहेको मान्छे होस्, दैनन्दिन उनीहरूका आआफ्नै कामहरू हुन्छन्, विषय र चटाराहरू हुन्छन् । उसले ती कामहरू जानेर या नजानेर, होस पुर्याएर वा विहोसीमा, ढङ्ग पुर्याएर वा बेढङ्गीमा पूरा गर्नैपर्छ, सम्पन्न गरेकै हुन्छ । एउटा व्यक्तिले सिङ्गो दिनमा पूरा गर्ने कामको शृङ्खलालाई नै उसको दैनिकी भनिन्छ । यसै सिलसिलामा एउटा प्राध्यापनमा व्यस्त मान्छेको दिनचर्या कसरी बित्दछ ? उसले बिहान उठेदेखि राति नसुतेसम्म के के कामहरू गर्दछ ? र आफ्नो व्यस्त जीवनको कसरी व्यस्थापन गर्दै आएको हुन्छ ? भन्ने बारेमा कुरा गर्दै सेई बोर्डिङ्ग स्कूल (लिखु–६, छहरे, नुवाकोट) का कक्षा ९ मा अध्ययनरत दुईजना छात्राहरू अस्मि पाण्डे र श्रेया थापाले पद्मकन्या कलेजकी उपप्राध्यापक तथा नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालको दैनिकी तयार पारेका छन् । प्रस्तुत छ तिनै सेई स्कूलका छात्राहरूले कुराकानीको आधारमा तयार पारेको दैनिकीको प्रमुख अंशहरू ।
१. कति बजे उठ्नुहुन्छ ?
– म बिहान ५ बजे उठ्छु ।
२. त्यसपछि के काम गर्नुहुन्छ ?
– बिहानको नित्यकर्म सकिएपछि म सामान्य व्यायाम गर्छु ।
३. बिहानको खास कार्यतालिका के हुन्छ ?
– बिहान घरभान्सा, बच्चालाई विद्यालय पठाउने र अफिस जाने तयारीमै मेरो समय बित्नेगर्छ ।
४. बिहान खाजा खानुहुन्छ कि हुन्न ?
– म बिहान खाजा त खासै खान्न ।
५ . खानेभए के खाजा खानुहुन्छ ?
– तर मन तातो पानी र हट लेमन भने खान्छु ।
६. खाना कति बजे खानुहुन्छ ?
– म बिहानको ८ बजे खाना खान्छु ।
७. खाना कस्तो मिठो लाग्छ ?
– मलाई सादा दाल, भात, तरकारी, अचार मनपर्छ ।
८. कलेज कतिबेला जानुहुन्छ ?
– खाना खानेबित्तिकै जान्छु ।
९. कलेजको दैनिकी कस्तो छ ? केके गर्नुहुन्छ ?
– कलेजमा विद्यार्थीहरूलाई पढाउने काम पहिलो प्राथमिकतामा नै परिहाल्यो । त्यसबाहेक प्रशासनिक कामको जिम्मेवारी पनि भएकाले म दिनभर तिनै कामहरूमा व्यस्त हुन्छु ।
१०. घर कति बजे फर्कनुहुन्छ ?
– कामअनुसार हुन्छ । कहिले चाँडै नै फर्कन्छु कहिले ढिला हुन्छ । प्राय २ बजेदेखि ४ बजेभित्र म घर आइसक्छु ।
११. घर आएपछि के गर्नुहुन्छ ?
४ बजेभन्दा छिटै फर्केको अवस्थामा म घरमा आएर पठनपाठन तथा लेखनमा व्यस्त हुन्छु । ४ बजेपछि भने बच्चा विद्यालयबाट घर आउने हुँदा बच्चाको खाजा तयार गर्ने, सरसफाई गर्ने, सँगै खेल्ने, गृहकार्य सिकाउने आदि काममा संलग्न हुनुपर्छ ।
१२. कलेज नगएको दिन के गर्नुहुन्छ ?
– कलेज नगएको दिन अर्थात् शनिबारको समय परिवार, स्वास्थ्य, मनोरञ्जन तथा साहित्यिक कार्यक्रमका लागि छुट्याउने गरेकी छु । दिउँसो गर्नुपर्ने सबै घरायसी काम बिहानै सकेर बाहिर निस्कने गर्छु । विशेषगरी शारीरिक एवम् मानसिक स्वास्थ्य र सम्बन्धमा प्रगाढताका लागि परिवार, आफन्त तथा साथीभाइका साथमा प्रकृतिसँग रम्ने यात्रामा बढी सहभागी हुने गर्दछु ।
१३. दिउँसो खाजा खानुहुन्छ ?
– खान्छु ।
१४. साँझ कसरी बित्छ ?
– साँझको समय बच्चासँगै र भान्साको काममा बित्छ ।
१५. राति कतिबेला खाना खानुहुन्छ ?
– म साँझ ७ बजेदेखि ७ः३० सम्ममा खाइसक्छु ।
१६. खाना खाएपछि के गर्नुहुन्छ ?
– साँझ खाना खाएपछि देशविदेशका समाचार हेर्ने र केही समय लेखपढ गर्नेगर्छु ।
१७. राति कतिबेला सुत्नुहुन्छ?
– रातको १० देखि ११ बजेभित्र म सुतिसक्छु ।
१८. यहाँको आम नारीको दैनिकीमा फरक के छ ?
– खासगरी जागिरे नारीहरूको दैनिकी र मेरो दैनिकी त उस्तै होला तर जो गृहिणी मात्रै हुनुहुन्छ उहाँहरूलाई आम नारी भनिएको हो भने उहाँहरूको र मेरो दैनिकी अलिकति फरक छ । त्यसमा पनि सिर्जनात्मक क्षेत्रमा लागेका महिलाहरू र यस क्षेत्रमा संलग्न नभएका महिलाहरूको दैनिकीमा अझ भिन्नता छ । पठनपाठन, सिर्जनात्मक कार्य, घरको जिम्मेवारी र जागिरे जीवन यी चार पक्षको सन्तुलन गर्नुपर्ने भएकाले मेरो दैनिकी आम नारीका तुलनामा जटिल र भिन्न छ ।
१९. सामान्य दैनिकीलाई सुखी र खुसी राख्न के गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई ?
– प्राथमिकताको पहिचान गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ । परिवारप्रतिको दायित्वबाट भागेर होइन व्यवस्थापनका साथ आफ्नो लक्ष्यमा लाग्नुपर्छ । ठूलाठूला सपनाका पछि लागेर बिथोलिनुभन्दा जीवनशैली अनुरूपको लक्ष्य बोकेर दृढताका साथ अघि बढ्नसके दैनिकजीवनमा सुखी र खुसी हुन सकिन्छ भन्ने लाग्छ ।
बूढानीलकण्ठ, पासिकोट, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: